गुणबहादुर रोका
सुलीकोट, भदौ २७ गते । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको साम्दो र छेकेम्पारमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट बिओपी स्थापना कार्य छिटै अघि बढाउन माग गर्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराइएको छ ।
गाउँपालिकाका अध्यक्ष निमा लामा पूर्व सहरी विकास राज्यमन्त्री छमबहादुर तमु, पालिकाका जनप्रतिनिधि तथा विभिन्न राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिसहितको टोलीले बुधबार गृहमन्त्री श्रेष्ठसँग भेटघाट गरी सो विषयमा ध्यानाकर्षण गराएका हुन् ।
छिमेकी मुलुक चिनसँग सीमा जोडिएको उत्तरी गोरखाको साम्दो र छेकेम्पारमा बिओपी स्थापना गर्ने भनिएको छ । स्थापना कार्यमा ढिलाइ नगर्न भन्दै गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण गराइएको पालिका अध्यक्ष निमा लामाले बताउनुभयो ।
त्यस क्षेत्रमा बिओपी स्थापना भएमा सीमा सुरक्षासँगै बिपदको समयमा उद्धार र पर्यटक एवम् स्थानीयको सुरक्षा समेत हुने उहाँको भनाइ छ । खुला सीमा क्षेत्रबाट अवैध बस्तुको ओसारपसार समेत नियन्त्रण हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । गृहमन्त्री सँगको भेटमा गाउँपालिकाका हालसम्म कायम रहेको निषेधित क्षेत्र खुला गरिदिन समेत माग गरिएको उहाँले बताउनुभयो ।