• २२ असार २०८१, शनिबार

‘श्रमिकलाई अप्ठ्यारो पर्ने अवस्था नआओस्’

blog

काठमाडौँ, भदौ २७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न देशमा नेपालको प्रतिनिधित्व गर्ने राजदूतलाई नेपाली श्रमिकको हितमा काम गर्न निर्देशन दिनुभएको छ । उहाँले अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध र नेपालको पर्यटन प्रवद्र्धन हुने खालका कार्यक्रम गर्न पनि निर्देशन दिनुभयो । 

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सोमबारदेखि सुरु भएको ‘श्रम आप्रवासनसम्बन्धी समस्या र तिनको समाधान’ विषयक दुई दिने छलफललाई मङ्गलबार सम्बोधनका क्रममा उहाँले यस्तो निर्देशन दिनुभएको हो ।विदेशमा रहेका नेपाली श्रमिकले विभिन्न प्रकारका समस्यामा परेका कुरा आफूसमक्ष दिनहुँ ठुलो सङ्ख्यामा आउने गरेको भन्दै उहाँले भन्नुभयो, “हाम्रा श्रमिकलाई गन्तव्य देशमा अप्ठ्यारोमा पर्ने अवस्था नआओस् । श्रमिकलाई सुरक्षित हुने वातावरण बनाउनुहोस् । यसका लागि सरकारले पूर्ण साथ दिने छ ।” 

प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय आन्तरिक रोजगारीमा देखा परेको अप्ठ्यारो अवस्थामा वैदेशिक रोजगारीले देशको युवा जनशक्तिलाई रोजगारी सिर्जनाको क्षेत्रमा ठुलो सहयोग पुगेको बताउनुभयो । उहाँले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक ठगीमा पर्ने, मानव अधिकारको प्रत्याभूति, समयमै राहत, उद्धार हुन नसक्नु र कार्यस्थलका विभिन्न प्रकारका जोखिममा पर्नुलगायत समस्याको सामना गर्नसमेत निर्देशन दिनुभयो ।

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने कार्य सुरुवात भइसकेको बताउँदै प्रधानमन्त्री प्रचण्डले केही समयभित्रै विदेशमा रहेका सम्पूर्ण श्रमिकलाई कोषको योजनामा आबद्ध गर्ने सरकारको लक्ष्य रहेकोमा उक्त लक्ष्य हासिल गर्न क्रियाशील रहन सम्पूर्ण राजदूतलाई निर्देशन दिनुभयो । 

उहाँले दुई पक्षीय श्रम सम्झौता पुनरवलोकन र विस्तार, मागपत्रको प्रमाणीकरण, कानुनी प्रतिरक्षा, घरेलु श्रमिकसँग सम्बन्धित समस्याको सम्बोधन, सुरक्षित आवास, अभिलेख नभएका श्रमिकको अभिलेखीकरणलगायत विषयमा तत्काल कार्ययोजना बनाई काम सुरु गर्नसमेत निर्देशन दिनुभयो ।“एकातिर देशभित्रै आन्तरिक रोजगारीका अवसरमा वृद्धि गर्नुपर्ने छ भने अर्कोतर्फ वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित गर्नुपर्ने छ,” उहाँले भन्नुभयो, “मुलुकको समृद्धिका लागि श्रम क्षेत्रको भूमिका महत्वपूर्ण रहन्छ । साथै यसमा आर्थिक कूटनीतिलाई पर्याप्त ध्यान दिनु पर्छ ।” 

उहाँले व्यापार घाटा नेपालको अर्थतन्त्रको ठुलो चुनौतीका रूपमा रहिआएको उल्लेख गर्दै देशगत तथा वस्तुगत व्यापार विविधीकरण गरी व्यापार सन्तुलनलाई मुलुकको पक्षमा कायम गर्न दूतावासको महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो । 

उहाँले दुई दिने छलफलले विदेशमा रहेका नेपाली श्रमिकका समस्या समाधान गर्न, नेपालको कूटनीतिक क्षमतालाई सुदृढ, विस्तार गर्न, देशभित्र विदेशी लगानीको वातावरण सिर्जना गर्न एवं नेपालको बहुआयामिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

प्रधानमन्त्री प्रचण्डले विदेशस्थित राजदूतावास सीमित साधनस्रोतले गर्दा राजदूतले काम गर्न समस्या भएको भन्ने गुनासोप्रति आफू संवेदनशील भएको र यसको समाधानका लागि तुरुन्तै सरोकारवालालाई निर्देशन दिने विश्वास दिलाउनुभयो । 

छलफलमा सहभागी राजदूतले आआफ्ना प्रतिवेदन प्रस्तुत गर्नुका साथै आगामी कार्ययोजनाका बारेमा जानकारी दिनुभएको थियो । दुई दिने छलफल कार्यक्रममा सहभागी राजदूतले दूतावासको कार्यक्षमताको कमी, साधनस्रोतको अभाव र नेपाली श्रमिकको उद्धारका लागि समेत कठिनाइ भएकालगायत विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो । 

उहाँहरूले दूतावासमा उपलब्ध सीमित जनशक्तिबाट सरकार वा विदेशमा श्रम गरिरहनु भएका श्रमिकको अपेक्षा अनुसार काम गर्न नसकेको पनि स्वीकार गर्नुभयो । छलफलमा सहभागी राजदूत अस्ट्रियाका भरत गौतम, जापानका दुर्गाप्रसाद सुवेदी, दक्षिण कोरियाका ज्योति प्याकुरेल, जर्मनीका रामकाजी खड्का, मलेसियाका डिल्लीराज पौडेल, कतारका नरेशविक्रम ढकाल, ओमानका डोरनाथ अर्याल, बहराइनका तीर्थराज वाग्ले, पाकिस्तानका तापस अधिकारी, कुवेतका घनश्याम लम्साल, संयुक्त अरब इमिरेट्सका तेजबहादुर क्षेत्री, साउदी अरेबियाका नवराज सुवेदीलगायतले विदेशमा रहेका नेपाली श्रमिकको अवस्था र त्यसमा सुधार गर्न चाल्नुपर्ने कदमबारे आआफ्नो अवधारणा प्रस्तुत गर्नुभयो ।