शेरबहादुर राई
ओखलढुङ्गा, भदौ २६ गते । जिल्लाको मानेभन्ज्याङ गाउँपालिकाका ६० जना मानसिक बिरामीको निःशुल्क उपचार गरिएको छ । मानेभन्ज्याङ गाउँपालिका तथा मानसिक स्वास्थ्य मनोपरामर्श केन्द्र (सिएमसी) नेपालको संयुक्त आयोजनामा मानसिक रोगीहरूका लागि निःशुल्क मानसिक स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
शिविरमा ४५ जना महिला र १५ जना पुरुष गरी ६० जनाले सेवा लिएको सिएमसी नेपालकी मनोपरामर्शकर्ता कोपिला बस्नेतले बताउनुभयो । शिविरमा कडा खालको मानसिक रोग, चिन्ता रोग, उदासीनता (डिप्रेसन), तनाव, एन्जाइटी तथा छारे रोग भएका गरी ६० जना मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूले सेवा लिएको बस्नेतले जानकारी दिनुभयो ।
उहाँका अनुसार बिरामीहरूको स्वास्थ्य अवस्था चेकजाँच गरी रोगको प्रकृति अनुसार निःशुल्क औषधि वितरण गरिएको छ । शिविरमा सिएमसीका मनोपरामर्शकर्ता बस्नेत र जिल्ला अस्पताल अन्तरगतको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) का घटना व्यवस्थापक सजना राईले ४५ जनालाई मनोपरामर्श सेवा प्रदान गर्नुभएको छ ।
यसैबीच मोलुङ गाउँपालिकाको प्राप्चा स्वास्थ्य चौकी र स्वास्थ्य चौकी रामपुर चिशंखुगढी गाउँपालिकाको स्वास्थ्य चौकी शेर्नामा मानसिक स्वास्थ्य सम्बन्धी निःशुल्क शिविर सञ्चालन गरिने सिएमसी नेपाल ओखलढुङ्गाले जनाएको छ ।