बैतडी समाचारदाता
बैतडी, भदौ २६ गते । आत्महत्याका घटना रोकथाम गर्न मनोपरामर्श र मानसिक स्वास्थ्य उपचार अत्यावश्यक भए पनि बैतडीलगायत सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा देवीदेउतालाई दोष देखाउने प्रचलन रहेको छ।
बैतडी जिल्लामा हरेक एक महिनामा दुई जनाले आत्महत्या गर्ने गरेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ। स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले मानसिक स्वास्थ्यलाई देवीदेउतासँग जोडेर गलत धारणा बनाउने कुप्रचलन रहेको बताउनुभयो।
सामाजिक अन्धविश्वास तथा कुप्रचलनका कारण आत्महत्या रोकथाम गर्न चुनौती सिर्जना भएको गुनासो उहाँको छ। देउता लागेर मान्छे बौलाएको र आत्महत्या गरेको बुझाइ अझै हट्न सकेको छैन।
“मानसिक स्वास्थ्य समस्याका कारण घरपरिवारका सदस्यले फरक व्यवहार देखाउन थाल्यो भने देउता लाग्यो भन्ने चलन छ,” स्वास्थ्य प्रमुख भट्टले भन्नुभयो, “त्यस्तो बेलामा देवीदेउता लाग्यो भन्ने होइन, उपचार गर्न अस्पताल लैजानु पर्छ।”
सरकारले जिल्ला अस्पताललाई मानसिक स्वास्थ्य उपचार केन्द्रका रूपमा विकास गरी मानसिक स्वास्थ्यसम्बन्धी विशेषज्ञसहितको उपचारको व्यवस्था गरेको छ। मानसिक रोगीको उपचार गराउनु घरपरिवारकै सदस्य जागरुक बन्नुपर्ने उहाँले जोड दिनुभयो। ‘आशा जगाऔँ, जीवनरक्षा गरौँ’ नारासहित स्वास्थ्य कार्यालयले आयोजना गरेको आत्महत्या रोकथाम कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले सामाजिक अन्धविश्वास हटाएर उपचार गर्दा निको हुन्छ भनेर सचेतना फैलाउनुपर्ने धारणा राख्नुभयो। जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. धिरजप्रसाद जैसवालले विभिन्न रोग लागेर मर्नेको सङ्ख्याको तुलनामा आत्महत्याबाट मर्ने मानिसको सङ्ख्या दोस्रो नम्बरमा रहेको बताउनुभयो।
उहाँका अनुसार आत्महत्या घटनाको सूचीमा नेपाल विश्वको सातौँ नम्बरमा रहेको छ। नेपाल दक्षिण एसियामा श्रीलङ्कापछि दोस्रो नम्बरमा रहेको बताइएको छ। आर्थिक वर्ष २०७९/८० मा बैतडी जिल्लामा २५ जनाले आत्महत्या गरेका छन्। चालु आव २०८०/८१ को साउन र भदौमा छ जनाले आत्महत्या गरेको पाइएको छ। आत्महत्या रोकथाम दिवसका अवसरमा सरोकारवाला निकायका पदाधिकारीले सामाजिक सञ्जालको दुरुपयोग, दुव्र्यसनी, बेरोजगारी र मानसिक समस्याका कारण आत्महत्याका घटना बढेको बताएका छन्।
आत्महत्या रोकथामका लागि स्वास्थ्य कार्यालयले मात्रै नभएर स्थानीय तह, सामाजिक सङ्घ संस्था, समुदाय, सञ्चार, युवा क्लब, विद्यालय र क्याम्पसस्तरमै नियमित मनोपरामर्श कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।
स्थानीय तहले मनोसामाजिक परामर्शदाता नियुक्त गरेर काम गर्न सके आत्महत्या रोकथाम गर्न सकिने छ। सूचना प्रविधिका कारणले समाज र परिवारसँगै बसेर पनि मानिस एक्लो हुँदै गएकाले प्रविधिको सकारात्मक प्रयोगमा सहभागीले जोड दिएका छन्।
जिल्ला प्रहरी कार्यालय निमित्त प्रमुख प्रहरी निरीक्षक योगेश खत्रीले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्लाका सबै स्थानीय तहका विद्यालयस्तरमै मनोपरामर्श र साइबर सुरक्षासम्बन्धी कक्षा सञ्चालन भइरहेको बताउनुभयो। आत्महत्या घटना रोक्न तीन तहको सरकारको संयन्त्रले प्रभावकारी भूमिका खेल्नुपर्ने जिल्ला समन्वय समितिका उपप्रमुख दमनबहादुर कुँवरले सुझाव दिनुभयो।