• २३ वैशाख २०८१, आइतबार

हास्यव्यङ्ग्यकार चट्याङलाई वासुदेव लुइँटेल पुरस्कार अर्पण

blog

सम्मानित भएपछि सम्बोधनको क्रममा हास्यव्यङ्कार चट्याङ मास्टर ।

काठमाडौं, भदौ २५ गते । हरेक दुई वर्षमा प्रदान गरिँदै आएको ‘वासुदेव लुइँटेल पुरस्कार’ २०७९ का लागि हास्यव्यङ्ग्यकार चट्याङ मास्टरलाई अर्पण गरियो । यो पुरस्कारले सम्मानित उहाँ सत्रौँ हास्यव्यङ्ग्यकार हुनुहुन्छ ।

नेपाली नृत्यकलाका ओजश्वी र पाका व्यक्तित्व भैरवबहादुर थापाको प्रमुख आतिथ्य र शान्तदास मानन्धर, रोचक घिमिरे एवम् यादव खरेल विशिष्ट आतिथ्यमा प्रशासनिक प्रतिष्ठानको सभाकक्ष जाउलाखेलमा सम्पन्न भएको हो । 

सम्मान समारोहको आरम्भमै वासुदेव–विद्यादेव लुइँटेल गुठीका अध्यक्ष प्रा.डा. सुष्मा आचार्यले अतिथि एवम् सबै आमन्त्रितहरूलाई स्वागत गर्दै श्रद्धेय पिता एवम् हास्यव्यङ्ग्यका भीष्मपितामह वासुदेवप्रति श्रद्धाभाव व्यक्त गर्नु भयो । 

सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेले यस वर्ष सम्मानित हास्यव्यङ्ग्यकार चट्याङ् मास्टरको परिचय प्रस्तुत गर्दै भन्नु भयो, “भ्रष्टाचारी, दूराचारी, व्यभिचारी, अल्छी, घुस्याहा, कामचोरहरूमाथि खरा दरा र हास्यव्यङ्ग्यको गजब सन्तुलन चट्याङ् मास्टरका व्यङ्ग्यका विशेषता हुन् । माग्ने कविता सर्वाधिक चर्चित कविता हो । लेखन र वाचन दुवै प्रस्तुतिमा चट्याङ मास्टर मास्टर पिस कवि हुन् ।”

कार्यक्रममा भैरवबहादुर थापाले दोसल्ला ओढाएर यस वर्षको वासुदेव लुइँटेल पुरस्कार चट्याङ मास्टरलाई समर्पण गर्नुभयो । पुरस्कारमा रु. १ लाख ११ हजार १ सय ११ रुपैयाकौ थैली, सम्मान पत्रका साथै कौवा प्रकाशनको प्रतिक चिन्ह रहेको छ ।

वासुदेव विद्यादेव गुठीले यस पटक अरु दुईजना जेष्ठ स्रष्टालाई पनि जनही नगद रु १० हजार सहित सम्मानपत्र समर्पण गर्दै सम्मानित गरेको छ । यसरी सम्मानित हुनुहुनेमा काठमाडौंका जेष्ठस्रष्टा रमेश खकुरेल र झापाका जेष्ठस्रष्टा चूडामणि रेग्मी हुनुहुन्छ । 

समारोहमा प्राडा सुषमा आचार्यद्वारा लिखित बालकृति ‘खाँदै घुमौँ’ लोकार्पण गरियो । कृति लोकार्पणमा विशिष्ट अतिथि शान्तदास मानन्धरकासाथ चार बालबालिका समरा आचार्य, कृति रावल, अथिव विनोद पोखरेल र अश्र्या चटौत हुनुहुन्थ्यो ।

सम्मानित हास्यव्यङ्ग्यकार चटयाङ मास्टरले यो पुरस्कारलाई नेपाली हास्यव्यङ्ग्यको मदन पुरस्कार, नोबेल पुरस्कार हो भन्नु भयो । ‘आज ममात्र सम्मानित भएको हैन, सिस्नपानी नेपाल र हास्यव्यङ्ग्यको श्रीवृद्धिमा क्रियाशील सिस्नुपानी नेपालका सबै साथीहरू सम्मानित हुनु भएको छ र यो पुरस्कारको हकदार उहाँहरू पनि हुनुहुन्छ ।’ 

कवि रमेश खकुरेलले वासुदेवसँग पहिलो भेट हुँदादेखिको संस्मरण सुनाउनु भयो भने गुठीका पूर्व अध्यक्ष यादव खरेलले वासुदेव–विद्यादेव गुठी स्थापना र पुरस्कार घोषणाको ऐतिहासिक सन्दर्भ स्मरण गर्नु भयो । 

पूर्व अध्यक्ष रोचक घिमिरेले हास्यव्यङ्ग्यप्रति वासुदेवले गर्नुभएको समर्पण, त्याग र कौवा प्रकाशनको स्थापना सन्दर्भमा बोल्नु भएको थियो भने शान्तदास मानन्धरले हास्यव्यङ्ग्यमा वासुदेवले पुर्‍याउनु भएको योगदान स्मरण गर्दै बालबालिकासँगै बालकृति विमोचन गर्न पाउँदा अत्यन्त रमाइलो लागेको बताउनु भयो ।