• १३ मंसिर २०८१, बिहिबार

डोको डाला बुनेर गुजारा चलाउने बाजुराका कृष्णबहादुर

blog

बूढी गङ्गा –४ का कृष्णबहादुर खाती शनिवारको दिनमा पीठ्यूमा डोका , डाला ,छाप्रो र हातमा सुप्ता लिएर गाउँमा बिक्री गर्न जाँदै । तस्बिर: शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, भदौ २५ गते । पश्चिम नेपालका अधिकांश युवाहरू भारतमा रोजगारीका लागि जाने गर्छन् तर बाजुरा बूढी गङ्गा नगरपालिका वडा नं –४ साउँ बाडाका कृष्णबहादुर खाती भने गाउँमै एउटा उदाहरणीय पात्र बनेका छन् । 

उहाँले, बाजुरामा पाइने स्रोत साधनको प्रयोगबाट निर्मित भएका डोका डाला र छाप्रो लगायतका हातले बुनेका निगालोका सामाग्री खरिद गर्दै गाउँ गाउँमा बिक्री गरेर मनग्य कमाइ गदै आउनु भएको छ ।

खप्तड छेडेदह गाउँपालिका–७ का लम्गाउँ, बुढाबाडा लगायतका स्थानीयले निगालोबाट हातले बुनेका ती डोका ,डाला र छाप्रो लगायतका सामाग्री होलसेलमा ल्याएर गाउँ गाउँमा बिक्री गर्दै आएपछि उहाँले घरमै मनग्य पैसा कमाइ गर्नु भएको हो ।

उसो त उहाँ बूढी गङ्गा नगरपालिका वडा नं.–४ वडा कार्यालयको एक कर्मचारी पनि हुनुहुन्छ । उहाँले हप्ताका ६ दिन कार्यालयमै हाजिर हुनुपर्ने हुन्छ । तर पनि उहाँ शनिवार र बिदाको दिनमा डोका, डाला र छाप्रो लिएर बाजुराका प्रत्येक गाउँ बस्तीमा गएर बिक्री गर्नु हुन्छ ।

बूढी गङ्गा नगरपालिका –४ का खाती गाउँका स्थानीय कृष्णबहादुर खाती भन्नुहुन्छ, परिवार ठुलो छ, वडा कार्यालयबाट दिएको त्यो रकमले परिवार पाल्न मुस्किल भएपछि आफूले बिदा र शनिवारको दिनमा यो काम गर्नु परेको बताउनुभयो । 

उहाँले भन्नुभयो, पहिला वडा कार्यालयले तीन सय रुपियाँमा ज्यालादारीमा काम गराएको थियो । म इमान्दारीका साथ काम गर्दै गएपछि अहिले मलाई मासिक १४ हजार पाँच सय रुपियाँ दिएको छ । तै पनि त्यो तलबले मेरो घरमा खान लगाउन ठिक्क हुन्छ । छोरा छोरीलाई पढाइ लेखाइ गर्नका लागि बिदाको दिनमा मैले यो काम गर्नु परेको बताउनुभयो ।

खातीका दुई छोरा र दुई छोरी छन् । एक छोरी ४ एक छोरा ८ अर्को  छोरा गाउँ नजिकैको थुमा माविमा कक्षा १० मा अध्ययनरत छन् । भने जेठी छोरी १२ कक्षामा काठमाडौँमा पर्ने गर्दछन् ।

खाती भन्नुहुन्छ, गरी खानेका लागि गाउँमै प्रशस्त सम्भावना छन् । तर ती सम्भावना नदेखेका अधिकांश युवा भने कामकै खोजीमा भारत जाने गर्छन् । यता उनीहरूका पुस्ताले खेती लगाउँदै गरेको जमिन भने बाँझो बन्दै गएको छ । 

खातीले आफ्नो सधैँ बाँझो रहँदै आएको भुक्तोलीको जमिनमा स्याउ, नास्पाती ,ओखर, कुलम, कागती र सुन्तला लगायत फलफूल खेती गर्नु भएको छ । 

खातीले २०७६ सालको फागुनमा लगाएका स्याउ सुन्तला नास्पाती ओखर यती बेला फल्न सुरु गरेका छन् । मेरो पुस्तौँ देखि बाँझो रहँदै आएको जमिन यती बेला सदुपयोग भएको खाती बताउनुहुन्छ ।

२०७४ साल देखि स्थानीय तहको कर्मचारी भएका खातीले कार्यालयको काममा कुनै प्रभावित नहुने गरी प्रत्येक शनिवार र बिदाको दिनलाई मात्र सदुपयोग गरेर पनि महिनाको २५ हजार भन्दा बढी कमाइ गर्दै आउनु  भएको छ ।

महिनाका चार शनिवारको दिनमा उहाँले डोका, डाला र छाप्रोको व्यापार गर्दै आएपछि २५ हजार कमाइ गर्ने गरेको खातीले बताउनुभयो । 

बाजुराको खप्तड छेडेदहका विभिन्न गाउँ बस्तीमा आलु ,मुला ,रायो  र चोतो लगायतका अर्ग्यानिक तरकारी उत्पादन हुने गर्छन् । यहाँका स्थानीयले उत्पादन गरेका ती अर्ग्यानिक तरकारी ल्याएर गाउँ बस्तीमा बिक्री गरे पनि घरमै मनग्य पैसा कमाइ हुने उहाँले बताउनुभयो ।

हाम्रा गाउँका अधिकांश युवा यस्तो काम गर्दा लाज मान्छन् । तर उनीहरू कामको खोजीमा भारतमा जान्छन् । त्यहाँ गएर गाडीका टायर सेटका घरको शौचालय सफाइ गर्न भने अधिक रुचाउँछन् ।

गाउँमा रहेका बेराेजगार युवालाई गाउँमै रोजगारी दिलाउनका लागि स्थानीय सरकारले गाउँ बस्तीमै उत्पादन हुने तरकारी बाख्रा पालन भैँसी पालन डोका डाला छाप्रो बुन्ने सीपलाई बढी प्राथमिक दिने गरी कार्यक्रम ल्याउनु पर्ने खातीले बताउनुभयो ।