यदुप्रसाद भट्ट
मनाङ, भदौ २५ गते । लमजुङको बेँसीसहरबाट सुरु हुने अन्नपूर्ण पदमार्गको यात्रा मनाङ हुँदै विश्वकै अग्लो हिमाली भन्ज्याङ मानिएको थोराङ्ला पाँच हजार ४१६ मिटर पास हुँदै मुस्ताङको मुक्तिनाथ, जोमसोम र म्याग्दीबाट पोखरासम्म पुगेर टुङ्गिन्छ।
चल्तीको यो पदमार्ग यति बेला भने सडक सञ्जालको चपेटामा परेको छ। सडक सञ्जाल पुगेपछि कैयौँ पदमार्ग भत्किएका छन् भने केहीमा सडक बनेको छ। पहाडी र उच्च हिमाली भेगको यातायातलाई सहज बनाउन निर्माण गरिएका सडक सञ्जालका कारण २१ दिनको पदमार्ग सात दिनमा पूरा हुने गरेको छ।
पर्यटकीय सिजन सुरु भएकाले हालै मात्र अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) को सहकार्यमा प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा जनप्रतिनिधिको टोली तिलिचो अनुगमन भ्रमण गरेर फर्किएको छ।
पहिले २१ दिन लाग्ने यस पदमार्गको मारमा यहाँका भरिया मात्रै नभई स्थानीय उद्यमी र पर्यटन व्यवसायी पनि परेका छन्। पदमार्ग भत्किँदा, ट्रेलहरू बिग्रँदा, बोर्डहरू मेटिँदा पर्यटकलाई असुविधा भएको छ।
त्यस्तै सडक सञ्जालले दैनिक मजदुरी गरेर खाने वर्गको रोजीरोटी खोसिएको छ। बेँसीसहरबाट पुमा खोला पुल तरेपछि आउने दोस्रो बस्ती चनौटेको धुले सडकमा जिप हुइँकिँदा यहाँका स्थानीयको रोजगारी पनि खोसिएको छ।
यही बाटोमा भरिया तथा पोर्टर भएर गुजारा गर्नेलाई नियमित गाडी हिँड्न थालेपछि समस्या भएको छ। बेँसीसहरबाट चामेसम्मको ६५ किलोमिटर सडकको ट्र्याक खुलेसँगै भारी बोक्ने काम विस्तारै सुस्ताएको गोरखाका ४० वर्षीय श्यामबहादुर गुरुङले बताउनुभयो।
मनाङमा २०५० सालसम्म खासै होटल थिएनन्। चक्रीय अन्नपूर्ण पदमार्गको पनि प्रचारप्रसार हुन सकेको थिएन। सन् १९९२ मा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना स्थापना भएसँगै यसले संरक्षण र पर्यटनमा काम गर्न थाल्यो उहाँले भन्नुभयो। २०६९ सालमा चामेबाट माथिल्लो मनाङ गाउँसम्म मोटर चल्न थालेपछि पहिले भरिया लिएर बाटोमा क्याम्पिङ गर्दै पदमार्गमा जाने पर्यटक अहिले सिधै होटलमा बास बस्न थालेका छन्।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका अनुसार सन् २०१३ अघिका वर्षमा चक्रीय अन्नपूर्ण पदमार्गमा बर्सेनि १९ हजारको हाराहारीमा विदेशी पर्यटक भित्रिने गरेको पाइन्छ। जिल्ला समन्वय समिति मनाङका प्रमुख चीनबहादुर घलेका अनुसार दुई जना बराबर एक जना भरिया चाहिन्छ। “पर्यटकीय मौसमको छ महिनामा एक जना भरियाले मात्रै सवा लाख बढी आम्दानी गर्थे,” उहाँले भन्नुभयो।
’अरू महिनामा मनाङसम्म खाद्यान्न, निर्माण सामग्री बोक्थे। उनीहरूको गुजारा यसरी नै चल्थ्यो। अहिले सिधै पोखरा–काठमाडौँबाट केही भरिया ल्याउँछन्।’ पहिले बेँसीसहरदेखि मनाङ–मुस्ताङ हुँदै बेनी–पोखरासम्मको २१ दिनका लागि बेँसीसहरबाट भरिया लाने गरेको बताइन्छ।
खाङ्सारदेखि तिलिचो र माथिल्लो मनाङदेखि थोराङ्ला पास हुँदै मुक्तिनाथसम्म तीन/चार दिनका लागि चाहिने भरिया उतैबाट ल्याउने गरिएको छ। नेपाली सेनाले मनाङ सदरमुकाम चामेसम्म सडकको ट्र्याक खोलेर हस्तान्तरण गरेसँगै धेरै भरियाको पेसा सङ्कटमा परेको हो।
नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले ‘सडक सञ्जालले आफ्नो पालिकालाई छुन नसकेको बताउनुभयो। अहिले पनि मालसामान ढुवानीको एक मात्र माध्यम खच्चड नै हो, भरिया पाउन त मुस्किल नै छ,” उहाँले भन्नुभयो।
एक समय बेँसीसहरबाट हिँडेर दुई दिनमा पुगिने मनाङको धारापानीसम्म अचेल जिपमा चार घण्टामै पुगिन्छ। तिलिचोतर्फ खाङ्सारसम्म जिप एकै दिनमा पुग्छ। दुई दिनको यात्रामा थोराङ्ला बेस क्याम्प पुगिने गरेको छ।