• ३१ वैशाख २०८१, सोमबार

नक्कली मह बनाउने भारतीय नागरिक पक्राउ

blog

नक्कली महसहित पक्राउ परेका जुमाइदिन अन्सारी । तस्बिर : कैलाली प्रहरी कार्यालय

अविनाश चौधरी

धनगढी, भदौ २४ गते । चिनीको रसमा अखाद्य पदार्थ मिसाएर नक्कली मह निर्माण गरी  बिक्री गर्ने भारतीय नागरिकलाई पक्राउ गरिएको छ । धनगढी उपमहानगरपालिका–२ स्थित रमेशकुमार सैजुको कच्ची टहरामा नक्कली मह बनाउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशस्थित जिल्ला बस्ती पोओ, देवापार थाना नगरग्राम बकसरका ३० वर्षीय जुमाइदिन अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनी कच्ची टहरा भाडामा लिएर बस्दै आएका थिए । 

अन्सारीले अखाद्य वस्तु मिसाएर नक्कली मह बनाइ बिक्री गर्ने गरेको गोप्य सूचनाको आधारमा प्रहरीसहित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, वाणिज्य कार्यालय र धनगढी उपमहानगरपालिकाको संयुक्त टोलीले उनी बसेको घरमा छापा मारेको थियो । 

त्यहाँबाट प्लास्टिक गेलेनमा प्याक, राखेको महजस्तो देखिने पगालेको चिनीको रस ४०० केजी, बिना महको माहुरीको चाका पाँच केजी, कुट दुई केजी बरामद गरेको छ । यसैगरी, कडाइ एक थान, ५० केजी चिनी र खाने, पिउने वा सेवन गर्न नहुने निर्धारित स्तरभन्दा निम्नस्तरको मिसावटयुक्त खाद्य पदार्थ फेला पारिएको जिल्ला प्रहरी कार्यालयका सहायक हवल्दार रमेश नाथले जानकारी दिनुभयो । 

नक्कली मह बनाएर बिक्री गर्दैआएका अन्सारीलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि बरामद सामानसहित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा पठाइएको छ ।