• ६ जेठ २०८१, आइतबार

आँखा स्वास्थ्य सम्बन्धी अभिमुखीकरण

blog

आँखा स्वास्थ्य सम्बन्धी अभिमुखीकरणमा सहभागी स्थानीय जनप्रतिनिधि, शिक्षक र महिला स्वास्थ्य स्वयंसेविका ।

चन्द्र पन्दाक

ताप्लेजुङ, भदौ २४ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा आँखा स्वास्थ्य सम्बन्धी अभिमुखीकरण आयोजना गरिएको छ । हाल देशभर आँखा पाक्ने रोगले नागरिकलाई सताइरहेका बेला मैवाखोला गाउँपालिकाका जनप्रतिनिधि लगायतको सहभागितामा अभिमुखीकरण आयोजना गरिएको हो ।

नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङको आँखा स्वास्थ्य शिक्षा कार्यक्रमअन्तर्गत आइतबार मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुमा अभिमुखीकरण सञ्चालन गरिएको छ । नेत्र ज्योति सङ्घ ताप्लेजुङद्वारा सञ्चालित दोभान आँखा उपचार केन्द्रको आयोजनामा ढुङ्गेसाँघुस्थित वडा कार्यालयमा आयोजना गरिएको अभिमुखीकरणमा वडाका जनप्रतिनिधि, विभिन्न विद्यालयका शिक्षक र महिला स्वास्थ्य स्वयंसेविकाको सहभागिता रहेको थियो ।

अभिमुखीकरणमा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा कार्यरत प्राविधिक तथा कर्मचारी काजी थेबे र शैलेन्द्रकुमार महतोले सहजीकरण गर्नुभएको ढुङ्गेसाँघुका वडाध्यक्ष चन्द्रकुमार तामाङले जानकारी दिनुभयो । वडाध्यक्ष तामाङका अनुसार आँखा पाक्ने रोगबाट बच्ने उपाय, रोग नियन्त्रण, उपचार विधिलगायतका विषयमा सहजकर्ताले अभिमुखीकरण गराउनुभएको थियो ।

त्यस्तै, मोतियाविन्दु रोग र अहिले सेतो पुतली निस्कने समय भएकाले यसको सङ्क्रमणले हुने सापूँ रोगबाट बच्ने उपाय र सावधानीबारे पनि अनुशिक्षण गराइएको थियो । वडाध्यक्ष तामाङले विद्यार्थीलाई सहभागी गराएर सोमबार जनकल्याण माध्यमिक विद्यालय र मदन भण्डारी आधारभूत विद्यालयमा अभिमुखीकरण आयोजना गरिने छ । यस्तै, मङ्गलबार सरस्वती आधारभूत र सिंह आधारभूत विद्यालय तथा बुधबार पाटी आधारभूत विद्यालय र साक्फारा आधारभूत विद्यालयमा अभिमुखीकरण आयोजना गरिने भएको छ ।

आँखा स्वास्थ्य सम्बन्धी अभिमुखीकरणका क्रममा आँखाका रोगी विद्यार्थीलाई डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रले निःशुल्क चस्मा र औषधि वितरण गर्ने कार्यक्रम रहेको समेत वडाध्यक्ष तामाङले जानकारी दिनुभयो ।