• ८ पुस २०८१, सोमबार

कर्फ्यु हटाएर निषेधाज्ञा जारी, प्रदर्शन रोकिएन

blog

आइतबार बन्द रहेको मलङ्गवा बजारका पसल । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, भदौ २४ गते । सर्लाहीको सदरमुकाम मलङ्गवामा कर्फ्यु हटाएर आइतबार बिहानबाट निषेधाज्ञा जारी गरिएको छ । शनिबार बेलुका ५ बजेदेखि जारी गरिएको कर्फ्यु हटाएर आइतबार बिहान ८ बजेदेखि भदौ २७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । 

निषेधाज्ञा अवधिमा कुनै प्रकारको भेला, जुलुस, बैठक तथा प्रदर्शन गर्न रोक लगाइएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सर्वसाधारणको सुरक्षामा पर्नसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै मलङ्गवा बजारक्षेत्रको पूर्वमा झिम नदी, पश्चिममा मुसैली नहर, दक्षिणमा नेपाल–भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्ट पेट्रोलपम्पसम्म निषेधाज्ञा जारी गरिएको जानकारी दिनुभयो ।

शुक्रबार साँझ श्रीकृष्ण जन्माष्टमीको मूर्ति सेलाउनेक्रममा दुई समुदायबिच झडप भएको थियो । सोही विषयलाई लिएर विगत तीन दिनदेखि मलङ्गवा बजारक्षेत्र तनावग्रस्त बनेको छ । स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्दा पनि प्रदर्शन भने रोकिएको छैन । आन्दोलित पक्षले निषेधाज्ञाकैबीच आइतबार पनि मलङ्गवा बजार क्षेत्रमा टायर बालेर प्रदर्शन गरेका छन् । 

बेला–बेलामा प्रहरीमाथि ढुङ्गामुढा प्रहार भइरहेको छ । आइतबार दिउँसो मलङ्गवा नगरपालिका–३, मा प्रहरीमाथि ढुङ्गामुढा प्रहार भएपछि ६ राउण्ड अश्रुग्यास र एक राउण्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

तनावका कारण आइतबार पनि मलङ्गवा बजार बन्द रह्यो । फाट्टफुट्ट मोटरसाइकल बाहेक अन्य सार्वजनिक सवारी साधन सञ्चालन हुन सकेन । दैनिक ज्याला मजदुरी गरेर खाने व्यक्ति र आमनागरिकको जनजीवन बन्दले प्रभावित बनेको छ । 

मलङ्गवा नगरपालिकाका प्रमुख नागेन्द्रप्रसाद यादवले आइतबार विज्ञप्ति जारी गरी आफ्नो धार्मिक तथा सामाजिक मान्यताको पालना गर्दा वा गराउँदा अन्य समुदायको मान्यता र हितप्रति उत्तिकै सम्मान गरी सहिष्णुता कायम गर्न अपिल गर्नुभएको छ । 

यस्तै, आइतबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकले सर्वपक्षीय सद्भाव रैली आयोजना गर्ने, सबै क्षेत्रको अगुवाले आ–आफ्नो समुदायलाई संयमता अपनाउन पहल र अनुरोध गर्ने, संयमता नअपनाइ आपराधिक क्रियाकलापमा कोही संलग्न हुन गएमा कानुनी कारबाहीका लागि सबै पक्षले सहयोग गर्ने निर्णय गरेको छ । 

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा सुरक्षा अधिकारी, जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि, राजनीतिक दलका नेता, कार्यालय प्रमुख, दुवै समुदायका अगुवा, नागरिक समाज, सञ्चारकर्मी लगायतको उपस्थितिमा बैठक बसेको हो । 

त्यस्तै, बैठकले भदौ २२, २३ र २४ गते भएको घटना व्यवस्थापनको सन्दर्भमा सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरी १५ दिनभित्र जिल्ला प्रशासन कार्यालयमा प्रतिवेदन पेस गर्ने र सोही प्रतिवेदन बमोजिम कानुनी कारबाही प्रक्रिया अघि बढाउने सहमति गरिएको छ ।