गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २४ गते । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले नेपालको गरिबी हटाउन चीनसँग सहकार्य गर्नुपर्ने सुझाव दिनुभएको छ । प्रधानमन्त्रीले आज बोलाउनुभएको बैठकमा आफूले सो सुझाव दिएको उहाँले जानकारी दिनुभयो ।
‘गरिबी निवारणमा चीनले पाएको सफलताबाट नेपालले गरिबीमुक्त देश बनाउनुपर्ने बारेमा चीनको अनुभव लिन सुझाव दिएको हुँ’ उहाँले भन्नुभयो । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न अमेरिका र चीन भ्रमणबारेमा सुझाव लिन बैठक बोलाउनुभएको थियो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले गरिबी निवारणमा चीनले ठुलो सफलता पाएको र त्यसको अनुभवबाट नेपालले पनि गरिबी निवारण गर्नुपर्ने भन्दै चीनसँग अनुभव लिन सुझाव दिएको बताउनुभयो ।
उहाँले म्यानुफ्याक्चरिङ क्षेत्रमा पनि चीन धेरै अघि रहेकाले उद्योगको मोडलमा चीनले नेपालमा उद्योगहरू खोल्न र प्रोडक्ट चीनले आफूमार्फत नै निर्यात गर्न आग्रह गर्न अनुरोध गरेको बताउनुभयो ।
चीन भ्रमणमा प्रधानमन्त्रीले फर्टिलाइजर क्षेत्रमा चीनबाट सहयोग माग्न आग्रह गर्न र नेपाललाई केमिकल फर्टिलाइजरमा आत्मनिर्भर बनाउने बारेमा चीनसँग सहकार्य गर्न अनुरोध गरेको अध्यक्ष राउतले बताउनुभयो ।