• २९ वैशाख २०८२, सोमबार

हेटौँडामा आज प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने

blog

मनहरी (मकवानपुर),  भदौ २४ गते ।  सातवटै प्रदेशमा सन्देश सभा गर्ने समाजवादी मोर्चाको निर्णयअनुसार आज हेटौँडामा सन्देश सभा हुने भएको छ । सोही सभालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्नुहुनेभएको छ । 

उहाँसहित सभालाई नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेकपाका अध्यक्ष नेत्रविक्रम चन्द र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सम्बोधन गर्ने कार्यक्रम रहेको एकीकृत समाजवादी बागमती प्रदेशका अध्यक्ष सावित्री भुसालले बताउनुभयो । 

आज करिब २ बजे प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा मोर्चाले सन्देश सभा गर्ने भुसालले बताउनुभयो । सन्देश सभाको संयोजन तथा आयोजना एकीकृत समाजवादीले गरेको र सभाको सम्पूर्ण तयारी पूरा भएको उहाँले जानकारी दिनुभयो । 

हेटौँडामा प्रधानमन्त्री आउने भएपछि शनिबारबाटै सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । कार्यक्रमस्थलसहित बजारका विभिन्न चोकचोकमा सुरक्षाकर्मी खटाइएको मकवानपुरका प्रहरी प्रमुख सीताराम रिजालले बताउनुभयो । रासस