नरेन्द्र ढकाल/गुणबहादुर रोका
गोरखा, भदौ २४ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कानुनले ठुलासाना भनेर कसैलाई नचिन्ने बताउनुभएको छ। गोरखाको सिरानचोकमा स्थानीय जनप्रतिनिधि तथा सिरान चोकवासीसँग शनिबार भेटघाट गर्दै उहाँले कानुनले दोषी ठहर्याएका सबैलाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट गर्नुभयो।
“गरिब र निमुखालाई मात्र कानुन लाग्छ। ठुला नेता, मन्त्री, सचिव या ठुला पदाधिकारीलाई कानुन लाग्दैन भन्ने जस्तो बुझाइलाई बदल्ने जमर्को अहिलेको सरकारले गरेको छ,” उहाँले भन्नुभयो, “यदि कोही दोषी छ भने त्यो मन्त्री भए पनि, नेता भए पनि, कर्मचारी भए पनि कसैले छुट पाउन सक्दैन।”
आफू नेतृत्वको वर्तमान सरकारले सुरु गरेको भ्रष्टाचारविरोधी अभियानमा आफ्ना मान्छे जोगाउँछ भनेर अनर्गल प्रचार गरिएको उहाँको आरोप छ। दोषी देखिए कसैलाई नछोड्न आफूले अनुसन्धानकर्तालाई निर्देशन दिएको समेत उहाँले बताउनुभयो। “अनुसन्धानकर्तालाई मैले भनेको छु, तपाईंहरूले दोषी पत्ता लगाउँदै जाँदा, भ्रष्टाचारविरुद्ध सुशासनको पक्षमा अनुसन्धान गर्दै जाँदा त्यहाँ प्रचण्ड दोषी देखिए तपाईंहरूले पनि बयान लिनु पर्छ। जरुरी परे गिरफ्तार पनि गर्न सक्नु पर्छ भन्ने निर्देशन दिएको छु।”
न्याय र समानताको आन्दोलनलाई कमजोर तुल्याउने काम भ्रष्टाचारले गरेको भन्दै उहाँले जबसम्म माथिदेखि तलसम्म भ्रष्टाचारको जालो तोडिँदैन तबसम्म देशमा सुशासन स्थापित नहुने उहाँको भनाइ छ। देशमा ललिता निवास मात्र नभए धेरै सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको हुन सक्ने उहाँले आशङ्का व्यक्त गर्नुभयो।
“ललिता निवास एक सुरुवात मात्र हो, त्यहाँ कसैलाई फसाउने कुनै उद्देश्य छैन। हाम्रो उद्देश्य सरकारको जग्गा सरकारकै हुनुपर्छ भन्ने हो,” उहाँले भन्नुभयो, “यस्ता हजारौँ फाइल खोल्दै जानुपर्छ। राज्यको सम्पत्ति जालझेल गर्नेलाई कानुनको दायरामा ल्याउनुपर्छ।”
भुटानी शरणार्थी, ललिता निवास, सुन तस्करी प्रकरण, मिटरब्याज पीडित र लघुवित्त तथा सहकारी पीडितलगायतका विभिन्न विषयमा सरकारले महत्व दिएर काम गरेको उहाँले बताउनुभयो।
हेलिकोप्टरमार्फत गोरखा आउनुभएका प्रधानमन्त्रीले चार वटा छुट्टाछुट्टै कार्यक्रममा सहभागिता जनाउनुभएको थियो। माओवादी जनयुद्धका सहिद सुरेश वाग्ले (बासु) तथा भीमसेन पोखरेल (बैरागी) को २४ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै उहाँले वर्तमान सरकारले जनयुद्धमा मारिएका सबै व्यक्तिलाई सहिद घोषणा गरी राजपत्रमा प्रकाशितसमेत गरेको बताउनुभयो। सहिदको योगदानले देशमा परिवर्तन आएको भन्दै उहाँले सहिदले देखाएको बाटो भुल्न नहुनेतर्फ जोड दिनुभयो।
जनयुद्धका क्रममा उठाइएका सबै मुद्दा पूरा भइसकेका छैनन् भन्दै उहाँले बाँकी काम शान्तिपूर्ण ढङ्गबाट स्थापित गर्दै जाने दृढ सङ्कल्पका साथ लागिरहेको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले सहिदका सपना पूरा गर्ने जिम्मेवारी आफ्नो काँधमा रहेको भन्दै नेपाली जनताको परिवर्तनको सपना पूरा गर्न दृढ सङ्कल्पसाथ अघि बढिरहने स्पष्ट पार्नुभयो।
यसै गरी अजिरकोट गाउँपालिकाको भच्चेकमा योङ कम्युनिस्ट लिग (वाइसिएल) को दोस्रो गाउँ सम्मेलनलाई सम्बोधन गर्दै माओवादी पार्टी पुनर्निर्माणको क्रममा रहेको बताउनुभयो। उहाँले पार्टीलाई फेरि जनताका बिचमा स्थापित गर्ने र राष्ट्र र जनताको जिम्मा लिने एक मात्र पार्टीका रूपमा स्थापित गर्ने उद्देश्य लिएको भन्दै गोरखाका नेता कार्यकर्ता र जनसङ्गठनले पनि यो कुरालाई राम्रैसँग बुझेको भन्ने आफूलाई लागेको उल्लेख गर्नुभयो।
प्रधानमन्त्री प्रचण्डले गोरखामा कृषि प्रविधि पार्क निर्माण गर्ने आफ्नो चाहना रहेको बताउनुभयो। उहाँले चीन सरकारले नेपालमा कृषि प्रविधि पार्क निर्माण गर्ने प्रस्ताव गरेको भन्दै उक्त पार्क गोरखामा निर्माण गर्ने सोच बनाएको जानकारी दिनुभयो।
कृषि प्रविधि पार्कमा कृषिको आधुनिकीकरण, उत्पादन वृद्धि, पशुपालन र उद्योग पनि एकै ठाउँमा केन्द्रित रहने गरी निर्माण गर्ने सोच आफ्नो रहेको प्रधानमन्त्रीले बताउनुभयो। “पर्याप्त जमिन भयो भने गोरखामा मेरो आफ्नै निर्वाचन क्षेत्रमा एउटा ठुलो परियोजना निर्माण गरौँ, जसले हजारौँलाई रोजगारी दिन सकोस् र यहाँका जनताको जीवनमा आमूल परिवर्तन ल्याउन सकोस् मेरोतर्फ मेरो ध्यान छ।”