• २९ वैशाख २०८२, सोमबार

थाहा उद्योग वाणिज्य सङ्घ अध्यक्षमा ढकाल

blog

मकवानपुरको थाहा नगर उद्योग वाणिज्य सङ्घको थाहा नगरमा शनिबार भएको प्रथम अधिवेशन एवं आठौँ साधारणबाट अध्यक्षमा निर्वाचित पुरुषोत्तम ढकाल।

राममणि दाहाल

हेटौँडा, भदौ २३ गते। मकवानपुरको थाहा नगर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा पुरुषोत्तम ढकाल निर्विरोध निर्वाचित हुनुभएको छ। सङ्घको थाहा नगरमा शनिबार भएको प्रथम अधिवेशनले अध्यक्षमा ढकाललाई निर्विरोध निर्वाचित गरेको हो। 

सङ्घको वरिष्ठ उपाध्यक्षमा शम्भुसिंह कार्की, वाणिज्यतर्फ उपाध्यक्ष सुरेन्द्रमान प्रधान, उद्योगतर्फ उपाध्यक्षमा सानुकाजी गोपाली, वस्तुगत उपाध्यक्षमा राजेन्द्र बिडारी, महासचिवमा जर्मलाल श्रेष्ठ, कोषाध्यक्षमा प्रदीप प्रधान, सचिवमा श्रीराम कार्की र सहकोषाध्यक्षमा निरोज प्रधान सर्वसम्मत् निर्वाचित हुनुभएको छ।

निर्वाचन अधिकृत विवेक मानन्धरले कार्यसमिति सदस्यमा वाणिज्यतर्फ महिला सदस्यमा यशोदा अधिकारी र वस्तुगत सदस्यमा सुविन्द्रमान प्रधान निर्विरोध निर्वाचित हुनुभएको जानकारी दिनुभयो। 

यस्तै २२ जनाको निर्वाचन हुने व्यवस्था रहेको उद्योगतर्फ चार जना र खुला वाणिज्यतर्फ सात जना कार्यसमिति सदस्यसमेत निर्विरोध निर्वाचित हुनुभएको छ। 

यसैबीच थाहा नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कविराज खत्रीको अध्यक्षता तथा थाहा नगरपालिकाका नगरप्रमुख विष्णुबहादुर विष्टको प्रमुख आतिथ्यमा प्रथम अधिवेशन एवं आठौँ साधारण सम्पन्न भएको हो। 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङघ बागमती प्रदेश अध्यक्ष दिल सुन्दर श्रेष्ठ, थाहा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरि, थाहा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष राजेन्द्रभक्त श्रेष्ठ, दलकोतर्फबाट लक्ष्मण विष्ट, महिला उद्यम  विकास समितिका सभापति आरती श्रेष्ठलगायतले बोल्नुभएको थियो।