• १० पुस २०८१, बुधबार

सर्लाही सदरमुकाम मलङ्गवामा कर्फ्यु

blog

जिल्ला प्रशासन कार्यालय सर्लाही । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, भदौ २३ गते । सर्लाही सदरमुकाम मलङ्गवामा शनिबार साँझ ५ बजेबाट कर्फ्यु आदेश जारी गरिएको छ । कृष्ण जन्माष्टमीको मूर्ति विसर्जन गर्नेक्रममा भएको विवाद बढ्दै गएपछि स्थानीय प्रशासनले मलङ्गवा बजारक्षेत्रमा आइतबार बिहान ८ बजेसम्मका लागि कफ्र्यू आदेश जारी गरेको हो । 

प्रदर्शन चर्किएपछि स्थानीय प्रशासनले बाक्लोगरी सुरक्षाकर्मी परिचालन गरेको छ । प्रदर्शन नरोकिएपछि कफ्र्यू आदेश जारी गरी कुनै प्रकारको प्रदर्शन, जुलुस, भेलालगायत मानिसको जमघट हुने गतिविधि निषेध गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो । शुक्रबार राति झडप रोक्न प्रहरीले १६ सेल अश्रुग्याँस र एक राउण्ड हवाई फायर गरेको थियो । 

शनिबार फेरि प्रदर्शन चर्किएपछि प्रहरीले दिनभर नै पटक–पटक अश्रुग्याँस प्रहार गरेको छ । मलङ्गवास्थित नगरपालिका चोक, मुख्यबजार क्षेत्रसहित भित्री बस्ती र सडकमा समेत प्रदर्शन र ढुङ्गामुढा भएपछि त्यसलाई नियन्त्रण गर्न स्थानीय प्रशासनले कफ्र्यू आदेश जारी गरेको हो । 

शुक्रबार बेलुकादेखिको तनावका कारण मलङ्गवा बजार शनिबार ठप्प रह्यो । मलङ्गवा भएर चल्ने छोटो तथा लामो दूरीका यातायातका साधन शनिबार सञ्चालन हुन सकेनन् । 

शनिबार बिहान जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले धार्मिक, जातीय र सांस्कृतिक सद्भाव कायम राख्न सबैसँग अपिल गरेको छ ।