गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २३ गते । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको विविधताबिचको एकता सद्भाव र सहिष्णुताको मौलिक विशेषतामा आक्रमण भइरहेको बताउनुभएको छ । शनिबार ज्यापु महागुठीको चौथो राष्ट्रिय महाधिवेशनलाई काठमाडौँमा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
उहाँले विविधताको बिच एकता, सद्भाव र सहिष्णुताको हाम्रो मौलिक परम्परा र संस्कृतिमाथि आक्रमण गर्ने कुनै खेल नेपालमा फस्टाउन, बढ्न दिनु नहुने बताउनुभयो । आफ्नो पहिचान, अधिकार र विकासका निम्ति सचेत हुनुपर्ने बताउनुभयो । उहाँले प्राप्त भएको उपलब्धिको रक्षा गर्दै थप अधिकारका निम्ति अघि बढ्नुपर्ने बताउनुभयो । आज जातीय, भाषिक र धार्मिक एकताको सट्टा सद्भाव र सहिष्णुताको सट्टा विभिन्न नाममा द्वन्द्व फैल्याउने, विग्रह फैल्याउने खतराहरू पनि देखिरहेको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘यो बहुजातीय बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुक हो । यसको विशेषता भनेको विविधताबिचको एकता हो । यसको आफ्नै मौलिक पहिचान छ । धार्मिक र सांस्कृतिक जातीय सद्भाव र सहिष्णुता यसको मौलिक विशेषता हो ।’
‘हामी सबै आफ्नो पहिचान, अधिकार र विकासको निम्ति सचेत हुनुपर्छ । प्राप्त भएको उपलब्धिको रक्षा गर्दै थप अधिकारको निम्ति अघि बढ्नुपर्छ । त्यसको निम्ति सङ्गठित हुनुपर्छ’ उहाँले थप्नुभयो, ‘अरूको अधिकार, पहिचान र विकासको निम्ति पनि सहयोगी हुनुपर्छ । हाम्रो विविधताको बिच एकता, सद्भाव र सहिष्णुताको हाम्रो मौलिक परम्परा र संस्कृतिमाथि आक्रमण गर्ने कुनै खेल नेपालमा फस्टाउन, बढ्न पाओस् । परास्त गर्न सफल हुनुपर्छ ।’
गृहमन्त्री श्रेष्ठले समृद्धिको कार्यभार पूरा गर्न सरकारले अहिले सुशासन, समृद्धि र सामाजिक न्यायलाई आफ्नो कार्यभारको मुलमन्त्र बनाएको उल्लेख गर्नुभयो । उहाँले सरकारले भ्रष्टाचारबिरोधी र दण्डहीनताबिरोधी ठुला अभियान सञ्चालन गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘समृद्धिको कार्यभार पूरा गर्न सरकारले अहिले सुशासन, समृद्धि र सामाजिक न्यायलाई आफ्नो कार्यभारको मूल मन्त्र बनाएको छ ।