• ८ जेठ २०८१, मङ्गलबार

सामयिक नैतिकताको पुनरुत्पादन

blog

लोकतन्त्र र गणतन्त्रलाई नैतिकता नभएको चिज भनेर जसरी आज बदनाम र अस्वीकृत गरिँदै छ; लोकतन्त्रले प्रार्थना, विनयशीलता र कृतज्ञता गुमाउँदै गएको देखिन्छ । यस्तो समाज अराजक र अनुशासनहीन बन्दै जान्छ, गएको छ । नैतिकतालाई आचरणका रूपमा विकास गरेर लैजाने समाज समुन्नत हुन्छ । 

नैतिकतामा एकरूपता नहुनु वर्तमान समयको मूल समस्या हो, अन्तर्विरोध हो । नयाँ सन्दर्भमा नैतिकताको पुनव्र्याख्या आवश्यक छ । नैतिकता सामाजिक मूल्यको सिद्धान्त हो, नैतिकता र आचरण हो, जीवन पद्धति हो । नैतिकतालाई आ–आफ्नो अनुकूलतामा परिभाषित गरिन्छ, त्यसैले नैतिकता स्खलनको आरोप नखेप्ने मान्छे कमै छन् । इमानदार हुनु भनेको कमजोर बन्नु झैँ भएको छ । भुल्न नहुने कुरा, जुनसुकै मानक बन्न र भत्कन लामो समय लाग्छ । 

कुनै पनि मानक बन्ने व्रmममा त्यहाँ लामो समय अभ्यास भएको धर्म, परम्परा, संस्कृति, विज्ञान र कानुनको प्रत्यक्ष–अप्रत्यक्ष निगरानी र साझेदारी रहेको हुन्छ । सामाजिक मूल्यको स्थापनार्थ सामाजिक, धार्मिक र राजनीतिकलगायत अन्य क्षेत्रका अगुवाको देन महìवपूर्ण हुन्छ । समाजको आफ्नो छुट्टै मानक, नैतिकता, सामाजिक समझ र व्यवहार हुन्छ । सामाजिक व्यवहारको आलोकमा नैतिकता निःसृत हुन्छ । नैतिकता सामयिक पनि हुन्छ । विगतमा नैतिक लाग्ने विषय आज अनैतिक र अवैधानिक बनेका हुन्छन्, त्यसैले सामयिक नैतिकताको पुनरुत्पादन हुनु जरुरी छ । नैतिकताको पुनर्निर्माण प्रव्रिmयाको पनि थालनी आवश्यक छ । सामाजिक भौतिक मूल्य र नैतिक मूल्य एकै होइनन् ।

नैतिकता त्यस्तो चिज, व्यवहार र आदर्श हो; जसले भौतिक मूल्यलाई कहिल्यै प्राथमिकीकरण गर्दैन । नैतिक मूल्य र उचाइ अङ्कगणितीय जोड घटाउमा भेटिन्न । कतै गणितमा नैतिकता भेटियो भने अच्युत रहँदैन । आजकल नैतिकताको पनि व्यापार भएको पाइन्छ । नैतिक देखिनेहरू पनि बिकेका र चुकेका पाइन्छन् । लोभ र मोहमा फसेका देखिन्छन् । सार्वभौम नैतिकताले बाटो बिराएको देखिन्छ, अतः नैतिकताको पनि पुनरवलोकन, पुनव्र्याख्या र पुनर्पुष्टि जरुरी देखिएको छ ।

कुनै पनि कुराको औचित्य त्यति बेलासम्म रहन्छ, जति बेलासम्म उसले आफ्नो प्राकृत स्वभाव गुमाउँदैन, उसको धर्ममा आँच आउँदैन । ऊ अप्रश्नीय बन्छ । जब ऊ आफ्नो धर्मबाट विचलनमा पुग्छ तब उसका बारेमा पूर्वमान्यता, दर्शन र मानकबारे सोचमग्न बन्ने स्थिति पैदा हुन्छ । हाम्रो समाजमा प्राचीनकालदेखि स्थापित नैतिक मूल्यमा गिरावट आएको छ । कतिपय अवस्थामा पुरानो अभ्यास र मानक भत्काउने स्वाभाविक प्रव्रिmया हुन्छन् । तिनलाई भत्काएर नवनिर्माणको खाँचो हुन्छ । कति अस्वाभाविक रूपमा स्खलनमा जाने हुनाले नवमान्यता स्थापित गर्न विहङ्गम विमर्श चलाउनु सामयिक हुन जान्छ । जसका लागि समाजमा अभ्यास गरिएको धार्मिक कानुन, त्यसले पारेका प्रभाव र समाजमा छोडेको अमिट छाप, मनोविज्ञान र विश्वासबारे तथ्यमा पुग्ने यत्न गर्नु पर्छ ।

विसर्जनतिर नैतिकता

समाजमा उच्च नैतिकता र संवेदनशीलता प्रदर्शन गरेर कर्तव्य निर्वाह गर्नुपर्ने डाक्टर बिरामीको उपचारमा कम औषधी बेचबिखनमा बढी सव्रिmय हुन थाल्यो । डाक्टर कम, व्यापारी ज्यादा हुन लाग्यो । शिक्षाधिकारी पद प्राप्त गर्न रकम बोलकबोल गर्दै हिँड्न थाल्यो । विश्वविद्यालयको प्राध्यापक, न्यायालय मुद्दा किनबेच मोलमोलाइको अखडा बन्यो । वकिल र न्यायाधीश बिचौलिया र न्याय खरिद–बिव्रmीका एजेन्ट बन्न पुगे । न्यायालय कुनै कर्पोरेट हाउस झैँ भएको छ । प्राविधिक जनशक्ति प्राक्टिस छोडेर प्रवचनमा जोड दिन थाल्यो । रेडव्रmस भ्रष्टाचारको मिसनमा फेरियो । धर्मशाला पाँच तारे होटलमा परिणत भयो । मन्दिर, चर्च र गुम्बा पुजारी, पादरी र लामाको व्यापारिक दोकान बन्दै छन् । 

बुद्ध मार्ने र हिटलर पाल्ने महान् मान्छेको दर्जामा उक्लियो । नागरिकलाई दिने अधिकार संविधानमा फर्जी बनेर बस्यो । अछुत बनाइयो । व्यवहारमा छुवाछुत र भेदभाव हटेन भनेर गुनासो गर्ने नागरिकलाई समानता र अधिकार संविधानमा छ भनेर सरकार गैरजिम्मेवार बन्छ । यस्तै गरी नागरिक अधिकार खोज्ने तर कर्तव्य बिर्सने बन्यो । राज्यका सबै निकाय र अवयव अगतिशील बन्न थाले तब नैतिकता, इमान, विश्वास र दर्शनको जग भत्कँदै, चर्कंदै, हल्लँदै जान थाल्यो । यही विचलन, अवसाद, विसर्जन, वियोग, नैतिकताको क्रय–विक्रय, क्षति र घाटालाई उकासेर नैतिकता र धर्मको  पुनः परिभाषा अपरिहार्य भएकाले नैतिकताको पुनव्र्याख्या जरुरी भनिएको हो ।

समाज सधैँ सनातन तवरले चल्न सक्दैन । कतिपय असामयिक मानक र बार भत्काउनु र नयाँ इँटा राख्नु पर्छ । नूतन संस्कृति र संस्कारको थालनी गर्नु पर्छ । पूर्वीय दर्शनले प्रतिपादन गरेका विराट मूल्य र अस्तित्व जोगाउन पनि यसको कमजोरी सुधार गरेर आगामी पाइला चाल्नु पर्छ । नेपालले पनि हिन्दु धर्म र यसको विराट दर्शन, सौन्दर्य र ज्ञानको अथाह भण्डार बचाइराख्न यहाँ अभ्यास गरिएका जातीय छुवाछुत र विभेदजन्य संस्कार, संस्कृति र परम्परालाई जरैदेखि उन्मूलन गर्न अभियान चलाउन जति ढिला गर्यो, नोक्सानी त्यति नै बढ्ने छ ।

हिन्दु धर्मको अभ्यास गर्नेहरूमा जातीय छुवाछुत छैन भनेर सफेद झुट बोल्ने र ढाकछोप गर्ने, टालटुल पार्ने काम मानवताविरुद्धको अपराध र मानवीय सभ्यतामाथिको भद्दा मजाक हुने छ । कमजोरी हटाएर यसको मूल्यबोध गर्न जति ढिला ग¥यो, उति हिन्दु धर्म सङ्कुचनमा परेर सङ्कटोन्मुख हुने पक्का छ । एउटा धर्म दर्शनको विलुप्ति उसकै कारण होला तर उसको उपस्थितिमा, उसकै दार्शनिक मान्यताले मान्छेको बाँच्न पाउने हक खोसिनु किमार्थ स्वीकार्य हुन्न । समस्या छन् भने तिनको निदान र उपचार पनि छ । ज्ञान–विज्ञानको युगमा अन्धविश्वास र अन्ध तर्कलाई विस्थापित गर्दै धर्म, दर्शन र संस्कृतिले अँगालेका मानव हितकारी तìवको आत्मसात् र अमानवीय रूढिग्रस्त विचारलाई तिलाञ्जली दिएर समयको रथलाई आफू अनुकूल बनाउनु पर्छ । धर्म र अप्रमाणिक भनेर सबै कुरा त्याज्य र विस्मृतिमा लैजान लायक छैनन् । मानवीय गुण र भावनाले ओतप्रोत दर्शन पनि छन् । चर्चा र विवादको घेरामा रहेको मनुस्मृति फगत घृणाको लायक मात्र छैन, राज्य सञ्चालनार्थ अति आवश्यक सोच र दर्शन पनि छन् । समाजलाई यतिका वर्ष बाँधिराख्ने कडी पनि हो मनुस्मृति । मान्छेलाई मान्छे नसम्झने त्यो दुर्गुण र विभेद निन्दनीय र निषेधयोग्य छ । सकारात्मकताको ग्रहण र नकारात्मकताको निषेध आजको सङ्कथन हो । 

दर्शन, विचार, संस्कृति र परम्परा नभएको समाज र मान्छे हुँदैन । त्यसैले असल पक्षको प्रवर्धन गर्दै खराबलाई त्याग्ने नवसंस्कृति बसाल्न देशका प्राज्ञिक, बौद्धिक र प्रबुद्ध वर्गले धर्म नैतिकताको पुनव्र्याख्याको अभियानमा आफूलाई समाहित गर्दै लैजानु पर्छ । सर्वस्वीकार्य नैतिकताको भाष्य निर्माण गर्नु पर्छ । वैचारिक बहस निर्माण गर्नु पर्छ । मस्तिष्क मन्थनको परिपाटी बसाउनु पर्छ । सत्यलाई दृष्टिगोचर गर्ने तरिकालाई फराकिलो बनाउनु पर्छ । कुनै कालखण्डमा स्वार्थवश र अन्जानवश धर्म दर्शन विशेष गरी वेदको व्याख्या गरिँदा आएका विकृत विषय महिला र शूद्रको नाममा हुने विभेदजन्य पक्षलाई सच्याउने र धर्मले विभेद गर्दैन भन्ने नीति मीमांसालाई पालन गर्दै मार्ग तय गर्न सकिएन भने भयङ्कर दुर्घटना निम्तिने खतराबाट सम्बद्ध पक्ष, सरोकारवाला र राज्यको नीति निर्माण तहमा बस्नेहरू सचेत रहनु पर्छ ।

विनिर्माणको अमृतमय अवसर

अग्नि (आगो) नै सत्यको उद्घाटन गर्ने उच्चतम शिक्षक भनेर परिचय गराउने सर्वप्राचीन ऋग्वेद पक्कै सामान्य विद्या र लहडी लेखन होइन । वेदभित्र के छैन ? कति गहन जीवन, दर्शन, नीति नियतिको र विज्ञान छ । स्वामी प्रपन्नाचार्यले उसै ‘वेदमा के छ’ लेखेका होइनन् ? त्यसै गरी वेदभित्र त्याज्य कुरा र प्रसङ्ग पनि छन् । वेदलाई आजको युग चेतनाले अपौरुषेय मान्दैन । वेद, पुराण, महाभारत जस्ता कृति मानव लिखित साहित्य, धर्म र दर्शन हुन् । यिनको गुदी ग्रहण गर्ने र बाँकी प्राचीन सभ्यता र इतिहास, साहित्य र तत्कालीन चेतना भनेर मात्रै बुझ्ने बुझाउने गरियो भने यसबाट उत्पन्न हुने विवाद र झन्झटमा फसेर अलमल परेर बस्नु पर्दैन । वेद ज्ञानको अथाह भण्डार हो । 

आज पर्यन्त रहस्यको गर्भभित्र थुप्रै कुरा छ भनेर विज्ञानले स्वीकार गरेको छ भने इपू १८०० देखि १५०० वर्षपहिले रचनाको अनुमान गरिएको ग्रन्थलाई आजको चेतना र चस्माले हेर्नु वाञ्छनीय हुन्न । यसको आफ्नै सामाजिक मूल्य र नैतिक धरातल तथा दार्शनिक मत रहेको छ । यद्यपि पुरानो हुनेबित्तिकै यो समग्रमा सही छ र हो भन्ने चिन्तन बिल्कुल गलत हो । अतीतमा जे सही र मानक मूल्य हुन्थ्यो, सो आज हुन÷नहुन सक्छ; त्यसैले मूल्याङ्कन, पुनर्मूल्याङ्कन, पुनरवलोकन, पुनर्ताजगी विज्ञानको नियम र गति हो । विवेकपूर्ण सचेतता हो । जतिसुकै प्राचीन सिद्धान्त र मान्यता भए पनि (सामयिक) अहिलेको युग विज्ञान र परिवेश सुहाउँदो बन्न सकेन भने त्यसको मृत्यु अवश्यंभावी छ । मानव निर्मित शास्त्रबारे मानवले प्रश्न गर्ने पुनर्पठन गर्ने अधिकार राख्छ । आजको सरोकार मृत्युको होइन, कालजयी कृतिको अमरत्वका लागि हो । जीवनका जटिलतालाई ज्ञानको मार्ग र दर्शनद्वारा निरुपण गर्न सकिन्छ भन्ने तेजस्वी मन्त्रलाई पालना गर्ने हो भने कुनै पनि कुराको परिमार्जन शास्त्रसम्मत नै मान्न सकिन्छ । आफैँले आफैँलाई चिन्नु, चिनाउनु पूर्वीय दर्शनको मूल स्थापना भएको हुनाले कुनै पनि मृत धारणा बोकेर कुद्नु पनि यस धर्मको मर्मविपरीत हुन जान्छ भन्ने तथ्य र तर्क यसका अनुयायीले बुझ्नु पर्छ । दर्शन बुद्धि, तìव र ज्ञानको विषय भएको हुनाले तìवको साक्षात्कार र अनुभूति दर्शनको ध्येय हो । पौरस्त्य दर्शनशास्त्र अनुसार आध्यात्मिक अनुभूतिबाट तìव ज्ञान सम्भव छ; सो अनुभूतिलाई उद्देश्यमूलक बनाउने विषय अहिलेको प्रमुख चुनौती र अवसर हो । कुनै पनि कुराको पुनरवलोकन अमृतमय अवसर पनि हो ।

आचरण बन्नु पर्छ नैतिकता

धर्म वस्तुको प्राकृतिक गुण हो । धर्मसँग नैतिकता जोडिएर आउँछ । नैतिकता भौतिक मूल्य नभएको उच्चतम अभ्यास र संस्कार हो । नैतिकताको अनुहार जहिले र जताबाट हेरे पनि एकै हुन्छ । अनैतिक र विरोधाभासको अनुहार अनेकथरी हुन्छ तर नैतिकता जताबाट हेरे पनि उही र उस्तै देखिनु पर्छ । नैतिकता अवलम्बन गरिने विषय हो, ढोङ्ग होइन । नैतिकताको दोहोरो मापदण्ड हुनुहुन्न । सत्तामा बस्दा र सत्ताबाहिर बस्दा फरक फरक नैतिकता र राष्ट्रिय दृष्टिकोणमा भिन्नता आजको मूल्यहीन राजनीतिको विकृत रूप र अनुहार हो ।