सिन्धुपाल्चोक समाचारदाता
सिन्धुपाल्चोक, भदौ २३ गते । आफ्नो पूरै कार्यकालको तलब भत्ता सामाजिक काममा लगाउने उद्देश्यले सुनकोशी गाउँपालिका–६ का वडाध्यक्ष चक्रबहादुर बस्नेतले अक्षयकोष स्थापना गर्नुभएको छ । मासिक १८ हजार र बैठक भत्ता दुई हजार पाँच सय गरी २० हजार पाँच सय रुपियाँ वडाध्यक्षले सरकारबाट पाउने गर्छन् । पाँच वर्षमा प्राप्त हुने सबै तलबभत्ताको रकम जम्मा गर्न अक्षयकोष स्थापना गरी त्यसबाट प्राप्त हुने ब्याजले वडामा सामाजिक काम गर्न सुरु गरिएको बस्नेतले जानकारी दिनुभयो ।
तारा–चक्र फाउन्डेसन अक्षयकोष स्थापना गरेर वडाध्यक्ष बस्नेतले उक्त वडाका सामुदायिक विद्यालयमा अध्ययनरत उत्कृष्ट विद्यार्थी, शिक्षक विद्यालय सहयोगी, विभिन्न सामाजिक सङ्घ संस्थालाई नगदसहित सम्मान पनि गरिएको छ । बस्नेत र उहाँका दाइ ताराबहादुर बस्नेतले वडाभित्र हालसम्म सात वटा कोष स्थापना गरेर सामाजिक कार्य गर्दै आइरहनुभएको छ ।
चव्रm र ताराको संयुक्त प्रयासबाट ३५ लाख रुपियाँ कोषमा जम्मा भइसकेको छ । सो कोषबाट कक्षा ११ र १२ अध्ययन गर्ने वडाका पाँच जना विद्यार्थीलाई पाँच हजार रुपियाँका दरले छात्रवृत्ति प्रदान गरिएको छ । महेन्द्रोय माविमा अध्ययनरत विद्यार्थी पार्वती विक, गौरी रोक्का, मनीषा तामाङ, आयन तामाङ, अस्मिता भण्डारीलाई उक्त छात्रवृत्ति प्रदान गरिएको हो । आधारभूत तहदेखि माध्यमिक तहसम्म अध्यापन गराउने उत्कृष्ट शिक्षकलाई जनही तीन हजार रुपियाँका दरले पुरस्कृत गरिएको छ । उक्त वडामा खानेपानी योजना, कृषिलगायतका क्षेत्रमा काम गरिरहेको आइसप नामक संस्थालाई पनि सम्मान गरिएको छ । उक्त कोषको रकमबाट थुम्पाखर स्वास्थ्य चौकीमा जाने प्रवेशद्वार निर्माण गरिएको छ ।