प्रेमराज सिम्खडा
कालीकोट, भदौ २२ गते । कालीकोटको सदरमुकाम मान्माँ बजारबाट बिहीबार रातिदेखि आमा–छोरा बेपत्ता भएका छन् । रातिदेखि चार वर्षीय छोरासहित एक महिला बेपत्ता भएपछि अपहरण भएको हुन सक्ने अनुमान स्थानीयले गरेका छन् ।
पतिसँग झगडा परेपछि कालीकोट जिल्ला अदालतमा अंशमुद्दा दायर गरेकी सान्नीत्रिवेणी –१ लुसा माइतीघर भएकी २५ वर्षीया गीताकुमारी जैसी शाही र उहाँका ४ वर्षीय छोरा टेकेन्द्र शाही मान्मा नावगैरास्थित कोठावाट बेपत्ता भएका हुन् । जैसी दैलेख भगवतीमाई गाउँपालिका वडा ५ कट्टी घर भएर मान्मा बजारमा व्यवसाय गर्दैआएका दानबहादुर शाहीकी कान्छी पत्नी हुन् । १५ वर्षदेखि मान्मा बजारमा व्यवसाय गर्दैआएका शाहीले पहिलो बिवाह पनि कालिकोट बाटै गरेका थिए । बिवाह गर्छु भन्दै सम्वन्ध राखेपछि गीताबाट छोरा जन्मेका थिए ।
श्रीमती र छोरा मार्ने धम्की दिने शाहीका बारेमा गोरखापत्रमा भदौ ११ गते समाचार प्रकाशित भएपछि प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
गएराति ९ बजे मान्मा बजारको सुवेदी होटलमा खाना खाएर सुत्न नावगैरास्थित कोठामा गएका आमाछोरा राति नै बेपत्ता पार्ने शाही परिवार हुनसक्ने माइती पक्षको आरोप छ । सुवेदी होटलका सञ्चालक नमराज सुवेदीका अनुसार पेट दुख्यो भन्थिन्, राति ११ बजे फोन गर्दा कट्यो । जैसी र उनका नावालक छोरालाई राति नै बेपत्ता बनाएको आरोप माइती पक्षको छ । जाहेरीपछि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।