शेरबहादुर राई
ओखलढुङ्गा, भदौ २२ गते । नेपाली कांग्रेस ओखलढुङ्गाले जिल्लाव्यापी ‘वडा सम्मेलन’ सुरु गरेको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमितिले भदौ ३० गतेसम्मका लागि वडा सम्मेलन अभियान सुरु गरेको हो ।
जिल्लाको मोलुङ गाउँपालिका–१ मा वडा सम्मेलन गरि यो अभियानको औपचारिक सुरु गरिएको नेपाली कांग्रेस जिल्ला सभापति तेजेन्द्र खनालले बताउनुभयो । कांग्रेसको रूपान्तरण अभियानलाई बल पुर्याउने उद्देश्यले जिल्लाको आठ वटै स्थानीय तहका ७५ वडामा सम्मेलन गरिने सभापति खनालले बताउनुभयो । वडा सम्मेलनका लागि केन्द्र, प्रदेश साथै जिल्ला र स्थानीय तहका नेता कार्यकर्तालाई संयोजक तोकेर अभियान सञ्चालन गरिएको सभापति खनालको भनाइ छ ।
सम्मेलनमा जिल्ला तहका नेता, जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि, क्षेत्र र पालिका प्रतिनिधिहरू, तरुण विद्यार्थी प्रतिनिधिहरुको सहभागिता रहेको नेपाली कांग्रेस ओखलढुङ्गाले जनाएको छ । जनताले परिवर्तन चाहेकाले सोही बमोजिम कांग्रेसको सङ्गठन पनि रूपान्तरणको मार्गमा लैजान यो अभियान प्रभावकारी हुने सभापति खनालले बताउनुभयो ।
अभियानले जनताका समस्या समधानको उपाय तथा सङ्गठनलाई चलायमान बनाउनको लागि महत्वपूर्ण भूमिका खेल्ने कांग्रेसले विश्वास लिएको छ । वडा सम्मेलन पश्चात जिल्ला सम्मेलन आयोजना गर्ने तयारी रहेको नेपाली कांग्रेस ओखलढुङ्गाले जनाएको छ ।