• ६ जेठ २०८१, आइतबार

नेपालमा छिट्टै लगानी शिखर सम्मेलन गर्छौं : अर्थमन्त्री महत

blog

सिंहदरबारमा आयोजित लगानी बोर्डको १२ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री डा. प्रकाशशरण महत । तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, भदौ २२ गते । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा छिट्टै लगानी शिखर सम्मेलन गर्ने घोषणा गर्नुभएको छ । शुक्रबार सिंहदरबारमा आयोजित लगानी बोर्डको १२ औं वार्षिकोत्सवको अवसर पारेर उहाँले सो घोषणा गर्नुभएको हो ।

अर्थमन्त्री महतले विश्व बजारमा सूचना प्रविधिको क्षेत्रमा स्थापित कर्पोरेट कम्पनीहरुको लगानी नेपालमा भित्र्याउने गरी सो शिखर सम्मेलन आयोजना गर्ने लागिएको पनि जानकारी दिनुभयो । त्यस अवसरमा उहाँले नेपालमा आर्थिक वृद्धि गराउने राम्रा सङ्केतहरु देखिएको उल्लेख गर्नुहुँदै त्यसले मुलुकको आर्थिक गतिविधिले बढावा पाउने विश्वास व्यक्त गर्नुभयो ।


अर्थमन्त्री महतले भन्नुभयो, ‘‘नेपालमा लगानी गर्ने र त्यसको बजार विदेशमा समेत प्राप्त गर्ने सम्भावना त्यसले दिएको छ । त्यस्तै गरेर अहिले आईटी सेक्टर यो बृहत् सम्भावनाको क्षेत्र छ । त्यसमा मुख्य लगानीकर्तालाई विदेशमा जुन स्थापित आईटी सेक्टरका कम्पनीहरु छन् । तिनीहरुलाई हामीले ल्याउन सक्नुपर्दछ । हामी चाँडै अब एउटा लगानी समिट पनि नेपालमा गर्छौं । त्यसका लागि तत्कालै हामी यथेष्ट गृहकार्य पनि सुरु गर्छाैं । बजेटमा पनि हामीले बोलेका छौं ।’’

नेपालमा पर्यटन, कृषि, जलविद्युत् र सूचना प्रविधिको क्षेत्रमा लगानी बढने र बजारको पनि राम्रो व्यवस्था भएकाले यस क्षेत्रमा बाह्य लगानी भित्रिने अर्थमन्त्री महतले बताउनुभयो । उहाँले भारतमा १० हजार मेगावाट विद्युत् १० वर्षमा खरिद गर्ने सम्झौता भएको र चीनमा पनि सरकारले सोही खालको सम्झौतालाई अब छिट्टै अघि बढाउने बताउनुभयो ।


‘‘त्यसले पनि आर्थिक गतिविधि बढाउँछ । हाइड्रोपावरमा एउटा प्रगति लय पक्रिराखेको छ ।  इन्डियासँग जुन सम्झौता भएको छ । १० हजार मेगावाटसम्म विद्युत खरिद गर्ने दश वर्षमा । त्यसले लगानीकर्ताहरुलाई एउटा सुनिश्चित बजार प्रदान गरेको छ । त्यस्तै खालको समझदारी हामी चीनसँग पनि आगामी दिनमा हुनेछ भन्ने हामीले विश्वास लिएका छौं । त्यसले एउटा थप बजारको सम्भावना छ । हामी पहिला पयर्टनको कुरा गर्दा पश्चिमी देशहरुको पर्यटकको कुरा मात्रै हाम्रो दिमागमा आउथ्यो ।,’’ अर्थमन्त्री महतले भन्नुभयो, ‘‘अथवा जापानको हाम्रो दिमागमा आउँथ्यो । अहिले हाम्रो छिमेकी देशहरुमा आर्थिक उन्नति, प्रगति भइराखेको छ । त्यसले एउटा धेरै ठूलो सम्भावना पर्यटनमा छ । तेस्रो सम्भावना हाम्रो यो कृषिक्षेत्रमा पनि ठूलो सम्भावना छ ।’’

अर्थमन्त्री महतले नेपालमा बाह्य लगानी भित्र्याउने काममा लगानी बोर्डले अझ प्रभावकारी ढङ्गले पहल गर्ने विश्वास  व्यक्त गर्नुभयो ।