• १४ मंसिर २०८१, शुक्रबार

सडक निर्माण अलपत्र यात्रु र व्यवसायी मर्कामा

blog

प्रनिश गिरी 

कुस्मा, भदौ २२ गते । मध्यपहाडी लोकमार्ग अन्तर्गतको मालढुङ्गा–बेनी सडकखण्डको निर्माण अलपत्र छाडिएको छ । सडक निर्माणको काम वर्षाको समयमा अगाडि बढ्न सकेन । सडक निर्माण अलपत्र छाडिँदा यात्रुले सास्ती बेहोर्नु परेको छ भने सडक आसपास व्यापार गरी बसेका व्यापारीको व्यवसाय चौपट भइसकेको छ । सडककै कारण सडक आसपासका व्यापारीको पसलमा ग्राहक आउन सक्ने अवस्था छैन भने आवश्यकीय सामान खरिद गरी ल्याउन पनि व्यवसायीलाई समस्या छ । 

बाटो निर्माण नहुँदा बागलुङतर्फबाट लामो दुरी पार गरी आवतजावत गर्नु परेको छ । स्थानीय व्यापार व्यवसाय चौपट भएको स्थानीय जनप्रतिनिधिको गुनासो छ । दसैँ, तिहारलगायत चाडबाड नजिकिँदै गर्दा सडकको व्यस्तता बढ्दो छ । सडक सहज नहुँदा मुस्ताङ जाने आउने यात्रुलाई मार पर्ने गरेको छ भने यसको असर पर्यटन व्यवसायले समेत बेहोर्नुपर्ने देखिन्छ । मालढुङ्गादेखि बेनी खण्डमा पर्ने सडक आसपासका बस्ती सबैभन्दा बढी प्रभावित बनेका छन् । 

सदरमुकाम कुश्मा आवतजावत गर्नकै लागि जलजला गाउँपालिकाका बासिन्दालाई पारि बेनी पुगेर बागलुङ हुँदै जानुपर्ने बाध्यता छ । जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्य भन्नुहुन्छ, “सडकका कारण जलजलाका बासिन्दालाई सबैभन्दा बढी मर्का परेको छ । कोही बिरामी भइहाल्दा समयमा उपचारका लागि अस्पताल पु-याउन सक्ने अवस्था छैन । पटक पटक सरोकारवाला पक्षलाई छिटो सडक निर्माणको काम सक्न आग्रह गर्र्दा पनि सुनुवाइ भएको छैन । सडक आसपासमा पर्ने साना बजार क्षेत्रका व्यवसायी बाटोकै कारण मर्कामा छन् ।” 

जलजला गाउँपालिकाका करिब आधा दर्जन वडाले सडक सञ्जाल छोएको पाइन्छ । यसै पालिकामा पर्ने साना बजार फर्से, लस्ती, मिलनचोक, लामाखेत र पर्वतबेनी बजारका सडक समयमा निर्माण नहुँदा यहाँका व्यवसायी प्रभावित बनेका छन् । फर्से बजारमा किराना पसल गरी बस्ने व्यवसायी तारानाथ पाध्या भन्नुहुन्छ, “बाटोमा गाडी चल्न छाडेपछि सामान खरिद गर्ने ग्राहक नै आउन छाडेका छन् । हाम्रो व्यापार अहिले शून्य छ । मानिस बेनी गएर बागलुङ हुँदै सदरमुकाम जान्छन् । बाटो खोल्न भनी ठेकेदार र जनप्रतिनिधिलाई भनियो तर हाम्रो कुरा कसैले सुनेका छैनन् ।

” मिलनचोक बजारमा तरकारी व्यवसाय गर्दै आएका दीपक आचार्य पनि सडक अव्यवस्थित हुँदा आफूलाई व्यापार गर्न कठिनाइ भएको बताउनुहुन्छ । व्यापारी आचार्य भन्नुहुन्छ, “नजिकका स्थानमा स्कुटीमा लगेर तरकारी बिक्री गर्थें तर अहिले स्कुटी लिएर हिँड्दा कतिखेर कहाँनेर पल्टिने हो भन्ने मात्रै डर लाग्छ । तरकारी बिक्री गर्न जानै मन लाग्दैन ।” 

ठेकेदार कम्पनी एपेक्स खड्ग किस्नले लापरबाही र ढिलासुस्ती गरी सडक समयमै पूरा नगर्दा यात्रुले बर्सातको समयभरि थप सास्ती बेहोर्नु परेको हो । पर्वत मालढुङ्गादेखि बेनीसम्मको सडकखण्ड अति नै कठिन छ । सडकमा खाल्टाखुल्टी परेका छन् । कतिपय ठाउँमा सडकमा भिरबाट खसेको पहिरो नहटाई त्यत्तिकै अव्यवस्थित छाडिँदा दुर्घटनाको जोखिम उत्ति नै छ । मालढुङ्गादेखि बेनीसम्म रहेको १३ किमी लामो सडकखण्ड छिचोल्न घण्टौँ बिताउनुपर्ने अवस्था छ । बेनी र मुस्ताङका लागि छुटेका ठुला मालवाहक गाडी र यात्रु बस जोखिम मोलेर गुड्दै आए पनि साना हल्का गाडी भने पारि बागलुङ हुँदै साँघुरो मार्गबाट आउने जाने गरेका छन् । मालढुङ्गादेखि बेनी पुग्न १३ किमी पार गरे पुग्नेमा बागलुङ हुँदै जाँदा भने २६ किमी पार गर्नुपर्ने हुन्छ । योजनाको काम गत असोजभित्र सम्पन्न भइसक्नुपर्नेमा अहिलेसम्म ४० प्रतिशत मात्रै काम पूरा भएको छ । 

ठेकेदार कम्पनीका प्रतिनिधि अमृत दाहालका अनुसार ढुङ्गा, गिटी र बालुवा नपाएर काम छिटो अगाडि बढाउन नसकेको भन्ने छ । आयोजना प्रमुख जगत प्रजापती भन्नुहुन्छ, “ठेकेदारले म्याद थप गरेको समयभित्र काम सक्नु पर्छ । नसकेमा नियम अनुसार कारबाही अगाडि बढाइने छ ।” प्रजापतिका अनुसार २०७७ साल चैतबाट ठेकेदार कम्पनीले सडक निर्माणको सम्झौता गरेको हो । सम्झौैता अनुसार ३० महिनामा निर्माण सक्नुपर्ने थियो ।