• २६ पुस २०८१, शुक्रबार

जसपामा महाधिवेशन प्रतिनिधि बन्न सङ्गठन र समिति अद्यावधिक हुनुपर्ने

blog

काठमाडौं, भदौ २० गते । जनता समाजवादी पार्टी (जसपा) नेपालको महाधिवेशनमा प्रतिनिधि चुन्न र चुनिनका लागि नयाँ विधानबमोजिम सङ्गठन र समितिहरु अद्यावधिक भएको हुनुपर्ने छ ।

अद्यावधिक नभएका कुनै पनि सङ्गठन र समितिबाट महाधिवेशनको प्रतिनिधि हुन पाइने छैन ।  केन्द्रीय समिति महाधिवेशन आयोजक भए पनि स्वतः महाधिवेशन प्रतिनिधि हुने यस अघिको व्यवस्थालाई नयाँ विधानले हटाएको छ ।

केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभागका प्रमुख पूर्ण बस्नेतका अनुसार फलस्वरुप पार्टीका केन्द्रीय समिति सदस्यहरु पनि तल्लो समिति वा सङ्गठनबाटै निर्वाचित भएर महाधिवेशन प्रतिनिधि बन्नुपर्नेछ ।

सङ्गठन र समितिलाई नयाँ विधानबमोजिम अद्यावधिक गर्नका लागि पार्टीले तीनमहिने पार्टी विस्तार तथा सुदृढीकरण अभियान सञ्चालन गरेको छ । सङ्गठन र समिति पुनर्गठन र रुपान्तरण कार्य सम्पन्न भएसँगै पार्टी महाधिवेशनको प्रक्रियामा अगाडि बढ्नेछ।