• १४ जेठ २०८१, सोमबार

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल आजबाट अनलाइन टिकटको व्यवस्था

blog

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल ।

काठमाडौं, भदौ २० गते । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले आजबाट अनलाइन टिकटको व्यवस्था सुरु गरेको छ । अस्पतालले ६४ औँ वार्षिकोत्सव मनाउँदै बुधबारबाट लागू हुनेगरी बिरामीको चापलाई मध्यनजर गरेर अनलाइन टिकटको व्यवस्था सुरु गरिएको अस्पतालले जनाएको हो ।

अस्पतालले आजदेखि अनलाइन टिकट र थप एक–एक वटा बिलिङ र टिकट काउण्टर समेत थप गरी सञ्चालनमा ल्याएको छ । स्त्रीरोग अस्पतालले सेवाग्राहीले औषधि खरिद गर्ने सहजताको लागि फार्मेसी काउण्टर समेत थप गरेको छ ।

अस्पतालमा निर्देशक श्रीप्रसाद अधिकारीले गरिबीको रेखामुनी रहेकाहरूका लागि स्त्रीरोग अस्पतालमा जनरलतर्फ ४५० शय्या निःशुल्क गरिएको बताउनुभयो । उहाँले मुलुकको एकमात्र महिला स्वास्थ्य सम्बन्धी केन्द्रीय विशिष्टीकृत अस्पतालले स्वीकृत शय्या ४१४ भए पनि बिरामीको चापका कारण ४८९ शय्या सञ्चालन गरिएको जानकारी दिनुभयो ।

निर्देशक अधिकारीले गत आर्थिक वर्ष २०७९/८० मा कुल ३४ हजार १८५ जना महिला बिरामी भर्ना भएकामा प्रसूतितर्फ २६ हजार ९४७ तथा स्त्री रोगतर्फ पाँच हजार ४६ रहेको उल्लेख गर्नुभयो । उहाँले नवजात शिशु सघन उपचारतर्फ दुई हजार १९२ र मातृ सघनतर्फ ४८३ भर्ना भएर उपचार पाएको दाबी गर्नुभयो ।

उहाँले गत आर्थिक वर्षमा अस्पतालले बहिरङ्ग सेवातर्फ एक लाख ८० हजार ८९० जना महिलाहरूले सेवा लिएको जानकारी दिनुभयो । उहाँले प्रसूतिमा भर्ना भएका २६ हजार ९४७ मध्ये २४ हजार ६७२ जना गर्भवती महिलाको प्रसूति डेलिभरी भएको भन्दै जसबाट २४ हजार ९१५ जना शिशुको जन्म भएको बताउनुभयो । २४ हजार ६७२ जना प्रसूति डेलिभरी महिलामध्ये ९ हजार ८२१ जनाको शल्यक्रिया अर्थात् सिजरियन सेक्सनबाट डेलिभरी भएको जानकारी दिनुभयो ।

निर्देशक अधिकारीले स्त्रीरोग गाईनोकोलोजी शल्यक्रियातर्फ गत आर्थिक वर्षमा दुई हजार ९६४ जनाको शल्यक्रिया भएकोमध्ये २२३ जनाको दूरबिन प्रविधि (ल्याप्रोस्कोपिक) र दुई हजार ७२३ जनाको चिरफार प्रविधिबाट शल्यक्रिया गरेर उपचार गरिएको बताउनुभयो ।

उहाँले गत आर्थिक वर्षमा एक हजार ७७९ जना महिलाले निःशुल्क सुरक्षित गर्भपतन सेवा लिएको जानकारी दिनुभयो । स्त्रीरोग अस्पताल वि.स.२०१६ साल भदौ १० गते कृष्ण जन्माष्टमीको दिन ४० शय्या सुरुवात भएको थियो ।