टाेकियाे, भदौ २० गते । जापानका प्रधानमन्त्री फुमियो किसिदामाथि पाइप बम प्रहार गरेका युवकविरुद्ध ज्यान मार्ने उद्योग गरेको अभियोग लगाएको छ । यद्यपि उहाँमाथि कुनै हानि भएको थिएन । आक्रमणकारीलाई तत्काल पक्राउ गरिएको थियो ।
गत वैशाखमा पश्चिमी जापानमा आयोजित एक चुनावी सभामा प्रधानमन्त्रीमाथि विस्फोटक पदार्थयुक्त उपकरणले आक्रमण गरेका २४ वर्षीय रियुजी किमुराविरुद्ध हत्या अभियोग लगाइएको उक्त मुद्दा हेरिरहेको अदालतका प्रवक्ताले बताउनुभएको छ ।
पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्या भएको एक वर्ष पनि नपुग्दै प्रधानमन्त्री किसिदामाथि आक्रमण भएको थियो । वाकायामा जिल्ला अदालतका प्रवक्ताले एएफपी किमुरालाई हत्या अभियोग लगाइएको बुधबार बताउनुभएको हो ।
आक्रमणपछि प्रहरीले खोजी गर्दा किमुराको घरमा बारूद, पाइपलगायत उपकरण फेला परेका थिए । सार्वजनिक प्रसारण संस्था एनएचकेका अनुसार किमुरा आफ्नो गिरफ्तारी पछि मौन छन् ।
हत्या आरोप लगाइनुअघि करिब तीन महिनासम्म किमुराको मनोवैज्ञानिक परीक्षण गरिएको थियो । यसअघि किमुराले निर्वाचनमा भाग लिने देशको न्यूनतम उमेरप्रति असन्तुष्टि जनाउँदै सरकारविरुद्ध मुद्दा दायर गरेका थिए । रासस/एएफपी