राममणि दाहाल
हेटौँडा, भदौ २० गते । जबरजस्ती करणी गरेको अभियोगमा हेटौँडाका एक निजी अस्पतालका सञ्चालक समेत रहेका डा. बसिम राईलाई प्रहरीले पक्राउ गरेको छ ।
हेटौँडा १ स्थित सिटी अस्पतालका सञ्चालक राईलार्ई जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडाको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
काठमाडौँ जिल्ला बूढानीलकण्ठ नगरपालिका घर भई हेटौँडामा डेरा गरी बस्दै आएका ३६ वर्षीय राईले आफ्नै डेरा कोठामा महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
डा. राईले आफ्नै डेरा कोठामा सोमबार राति जबरजस्ती करणी गरेको भन्दै महिलाले प्रहरी कार्यालयमा मङ्गलबार उजुरी दिएका आधारमा राईलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार महिलाले प्रहरी कार्यालयमा जाहेरी दरखास्त दिएपछि राईलाई मङ्गलबार नै पक्राउ गरी जिल्ला अदालत मकवानपुरबाट मङ्गलवारबाट लागू हुने गरी पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ ।