काठमाडौं, भदौ १९ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले दलीय स्वार्थभन्दा माथि उठेर काम गर्न सांसदहरूलाई आग्रह गर्नुभएको छ ।
मङ्गलबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्नुहुँदै उहाँले मुलुकमा सुशासन कायम गर्नका लागि सांसदहरूले दलीय स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने बताउनुभएको हो ।
मन्त्री देवीले देशका सबै भूगोल र समुदायलाई समेटेर मात्रै कानुन निर्माण गर्ने काम नभए भ्रष्टाचारको अन्त्य गरी मुलुकलाई सुशासनको बाटोमा हिँडाउनसक्ने अवस्था नरहेको बताउनुभयो । देशको भूगोललाई हेरेर, त्यहाँ बसोबास गरेका सबै समुदायलाई समेटेर मात्रै सांसदहरूले कुनै पनि कानुनको निर्माण र संशोधन गर्नुपर्ने उहाँको भनाइ थियो । मन्त्री देवीले सरकारबाट भएको कमजोरी सच्याउनका लागि पनि सांसदहरूले सरकारलाई आवश्यकता अनुसार सचेत गराउनुपर्ने बताउनुभयो ।
‘‘हामी जुन ऐन, कानुन बनाउँछौँ । त्यसलाई हामीले देशभरकै कुनाकाप्चाका भूगोललाई हेरेर, त्यहाँ बसोबास गरेका हरेक वर्गलाई समेटेर हामीले ऐन, कानुन बनाऔँ । अनि, विगतमा हाम्रा ऐन, कानुनका कुन दफा, कुन उपदफा हामीले हटाउनुपर्ने हो ? त्यो हटाऊ । जबसम्म हामी हटाएनौ भने सबभन्दा ठुलो व्यथिति छ । त्यसलाई हामीले कसरी हटाउन सक्छौँ ? सबभन्दा पहिला भ्वाङ परेको त्यही हो ।,’’ मन्त्री देवीले भन्नुभयो, ‘‘त्यसलाई सबभन्दा पहिले जरादेखि शून्यता ल्याएनौँ भने हामी जतिसुकै चिलायो भने केही पनि गर्न सक्दैनौँ । हामीले सरकारसँग पनि कति त्रुटि भएको छ ? सरकारलाई पनि ध्यानाकर्षण गराऔँ । हामी यो राज्य व्यवस्थालाई पनि सुशासन कायम गर्न चाहन्छौँ भने आफ्नो दलबाट पनिमाथि उठेर एकीकरण गरेर हामी एकताबद्ध भएर गएनौ भने एकअर्कामाथि दोषारोपण गरेर मात्र हुँदैन । अब त्यसो गर्न छोडौँ ।’’
मन्त्री देवीले एकअर्कालाई दोषारोपण गरेर मुलुकमा सुशासन कायम नहुने भएकाले त्यस्ता खालका कारबाहीमा दलहरूले समय खर्च गर्न नहुने पनि बताउनुभयो ।