महेन्द्रनगर (कञ्चनपुर), भदौ १९ गते । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट अवकाशपछि पनि डा. गोविन्द केसीले बिरामीको सेवामा आफ्नो सक्रियतालाई निरन्तरता दिनुभएको छ ।
कुनै समय भौगोलिक रूपले विकट रहेको कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा पुगेर डा. केसीले विगत तीन दिनयता निःशुल्क स्वास्थ्य सेवा दिइरहनुभएको छ । महाकाली नदीपारिको नगरपालिकामा अझै स्वास्थ्य सेवा सुलभ हुन नसकेका बेला डा. केसी स्थानीयस्तरमै सेवा दिन आएको खबरले सेवा लिनेहरूको भीड लागेको छ ।
दोधारा चाँदनी अस्पतालबाट सेवा दिन थाल्नुभएका डा. केसीले पहिलो दिन एक सय ८४ जनाको स्वास्थ्य जाँच गरेको अस्पतालका अध्यक्ष एवम् नगर प्रवक्ता ओम बस्नेतले जानकारी दिनुभयो । हाडजोर्नीका बिरामीलाई जाँच गरिरहनुभएका डा. केसीलाई अस्पतालका अन्य चिकित्सकले पनि साथ दिएको अध्यक्ष बस्नेतको भनाइ छ ।
बस्नेतले भन्नुभयो, “डा. केसी आएको खबरले स्वास्थ्य जाँचका लागि आउनेहरूको सङ्ख्या निकै बढेको छ ।” आउनुअघि अस्पतालसित समन्वय भएको जनाउँदै बस्नेतले अस्पतालको आग्रहले उहाँ सेवा दिन दोधारा चाँदनी पुग्नुभएको बताउनुभयो ।” “डा. केसी बिहान ८ देखि बेलुकी ६ बजेसम्म बिरामीको सेवामा खटिनुभयो”, उहाँले भन्नुभयो, “यहाँको स्वास्थ्य सेवाका सवालमा राज्यले ध्यान दिनुपर्ने विषयमा समेत चासो राख्नुभयो ।” औषधि बोकेर दोधारा चाँदनी पुग्नुभएका डा. केसीलाई अस्पतालले आवश्यक सहयोग र समन्वय गरिहरेको छ ।
“हामीसित भएको निःशुल्क औषधि पनि जाँचपछि दिइरहेका छौँ”, बस्नेतले भन्नुभयो, “पछिल्लो समय यो अस्पतालको स्तरोन्नति भएपछि सामान्य शल्यक्रिया यहाँ हुन थालेका छन् ।” दोधारा चाँदनी झोलुङ्गे पुल बनेपछि मूलधारसित जोडिएको सो क्षेत्रमा चार लेनको पक्की पुल बन्नाका साथै सुक्खा बन्दरगाहको प्रस्ताव अघि बढेर भौतिक क्षेत्रको विकास भए पनि स्वास्थ्य सेवाका लागि दोधारा चाँदनीवासीले अझै भारतीय बजार धाउनुपर्ने बाध्यता छ । रासस