• १३ वैशाख २०८२, शनिबार

दलित सशक्तीकरण लक्षित कोष सञ्चालनको तयारी

blog

चन्द्र पन्दाक

ताप्लेजुङ, वैशाख १२ गते। ताप्लेजुङको मैवाखोला गाउँपालिकामा दलित सशक्तिकरणका लागि स्थापित अध्यक्ष कोष सञ्चालनको तयारी गरिएको छ। दलित लक्षित सीप तथा चेतनामूलक कार्यक्रम गर्नेगरी स्थापना गरिएको अध्यक्ष कोष सञ्चालन गर्ने तयारी गरिएको हो।

गाउँपालिकाले दलित सशक्तिकरणका कार्यक्रम गर्न गत आर्थिक वर्षदेखि अध्यक्ष कोष स्थापना गरेको छ। सो अध्यक्ष कोष सञ्चालनको तयारीस्वरुप सुझाव सङ्कलन तथा वडास्तरीय दलित समूह गठन गर्न सुरु गरिएको हो। शुक्रबार वडा नम्बर १ ढुङ्गेसाँघुमा सुझाव सङ्कलन र दलित समूह गठनको कार्यक्रम सम्पन्न गरिएको वडाध्यक्ष चन्द्रकुमार तामाङले जानकारी दिनुभयो।

गाउँपालिकाका प्रवक्तासमेत रहनुभएका वडाध्यक्ष तामाङका अनुसार कार्यक्रममा वडाभित्र बसोबास गर्दै आएका दलित परिवारमध्ये ६३ परिवारका प्रतिनिधि सहभागी भएका थिए। उहाँका अनुसार गत आर्थिक वर्षमा गाउँपालिकाले अध्यक्ष कोषमा १० लाख रुपियाँ बजेट विनियोजन गरेको थियो। चालू आवमा पनि १० लाख रुपियाँ नै बजेट विनियोजन भएको उहाँले जानकारी दिनुभयो। 

गत आवको कोषमा बचेको रकम र चालू आवमा विनियोजित बजेट कार्यान्यवन गर्ने गरी दलित समूह गठन र सुझाव सङ्कलन गर्न थालेको उहाँले बताउनुभयो। दलित समुदायकै माग र सुझाव समेतका आधारमा कोषको बजेट सञ्चालन गरिने उहाँको भनाइ छ। उहाँका अनुसार गाउँपालिकाका छ वटै वडामा दलित समूह गठन गर्ने र सुझाव सङ्कलनको काम सकिएपछि कोषको बजेट कार्यान्वयन गरिने छ।

यता गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार दलित लक्षित सीपमुलक र चेतनामुलक कार्यक्रम गर्ने कोषको मुख्य उद्देश्य रहेको छ। यस्तै दलित परिवारका जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न सहयोग गर्ने, निराक्षर व्यक्तिको तथ्याङ्क सङ्कलन गरी उनीहरुलाई साक्षर बनाउने, दलित समुदायको परम्परागत सीप र सस्कृतिको संरक्षण गर्न सहयोग गर्ने उद्देश्य रहेको अध्यक्ष वनेमले बताउनुभयो। 

त्यस्तै विपन्न दलित समुदायलाई आवास, खानेपानी, चर्पी, गोठ सुधारलगायत पूर्वाधार निर्माणमा सहयोग गर्ने र दलित समुदायलाई आर्थिक रुपमा जीवनस्तर उकास्ने खालका स्वरोजगारसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने कोषको उद्देश्य रहेको वनेमको भनाइ छ। दलित समूह गठन तथा सुझाव सङ्कलन कार्यक्रममा गाउँपालिका अध्यक्ष वनेम, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देन लगायतको उपस्थिति रहेको थियो।