• १२ वैशाख २०८२, शुक्रबार

डुडुवा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

blog

पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी । तस्बिर सौजन्य : डुडुवा गाउँपालिका

गजेन्द्र गुरुङ
खजुरा, वैशाख १२ गते ।
बाँकेको डुडुवा गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ । गाउँपालिकाका सबै बालबालिकाले पूर्णखोप लगाएपछि स्थानीय तह खोप सुनिश्चितता घोषणा भएको हो ।

शुक्रबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले गाउँपालिकालाई पूर्णखोप घोषणा गर्नुभयो । उहाँले बालबालिकालाई रोगबाट बच्नका लागि खोप अति आवश्यक भएकाले खोप लगाउनबाट कुनैपनि बालबालिका छुट्न नहुने भन्दै त्यसका लागि समुदायस्तरमा स्वास्थ्यकर्मीलाई विशेष निगरानी गर्न निर्देशन दिनुभयो ।

उहाँले स्वास्थ्यको क्षेत्रमा डुडुवाले विशेष मिसनका साथ काम गरिरहेकाले स्वास्थ्य सेवाको गुणस्तरीयता तथा प्रभावकारीतालाई विशेष ध्यान दिएको भन्दै कुनैपनि नागरिकले स्वास्थ्य सेवाबाट वञ्चितीकरणमा पर्न नहुने बताउनुभयो । अध्यक्ष चौधरीले अब छिट्टै ज्येष्ठ नागरिकका लागि विशेष उपचार सेवाको तयारी भएकोसमेत जानकारी दिनुभयो । 

गाउँपालिकाअन्तर्गत जन्मेदेखि १५ महिनाका एक हजार दुई सय ६ जना बालबालिकाले नियमित रुपमा पूर्णखोप लगाएपछि शतप्रतिशत पूर्णखोप सुनिश्चितता भएको स्वास्थ्य शाखा प्रमुख हेमन्तकिशोर शर्माले बताउनुभयो । उहाँका अनुसार पूर्णखोप सुनिश्चिताका लागि गरिएको घरधुरी सर्भेक्षणमा १६ महिनादेखि २३ महिनाका तीन हजार २ सय १५ जनाले समेत सबै खोप लगाएको पाइएको छ ।

जिल्ला खोप समन्वय समितिले डुडुवालाई पूर्णखोप सुनिश्चितता घोषणाको प्रमाणपत्र प्रदान गरेको थियो भने पालिकाको ६ वटै स्वास्थ्य चौकीलाई समेत प्रमाणपत्र प्रदान गरिएको थियो । वार्षिक रुपमा पालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गर्ने कार्यक्रम अन्र्तगत यसवर्ष पनि घोषणा गरिएको हो ।

पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख जनकराज गिरी, वडाध्यक्षहरु दुर्गाप्रसाद बर्मा, आमोद तिवारी, प्रमुख प्रशासकीय अधिकृत अशोककुमार पाण्डेय, स्वास्थ्यकर्मी, कर्मचारी, स्थानीय, लगायतको सहभागिता रहेको थियो ।