काठमाडौँ, वैशाख १२ गते। अन्तर्राष्ट्रिय गुरुङ बुद्धिजम परिषद्, नेपालको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन आउँदो असोज ९ र १० गते काठमाडौंमा आयोजना हुँदैछ।
परिषद्ले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गरि महाधिवेशनले ‘गुरुङ बुद्धिजम’ को अवधारणा र यसले अपनाउने संस्कार, संस्कृतिका बारेमा विस्तृत छलफल गरि ‘गुरुङ बुद्धिजम पेक्ष्या’ नामक निर्देशिका जारी गर्ने बताएको छ।
परिषद्का अध्यक्ष डा. कुमार गुरुङले सो सम्मेलनको तयारी स्वरुप वैशाख १३ गते काठमाडौंको तमू बौद्ध सेवा समिति, वैशाख १५ गते पोखरास्थित बौद्ध अर्घौं सदन, वैशाख १६ गते पोखराको पार्दी तमू समाज र वैशाख २० गते झापाको माइधारस्थित गुरुङ गुम्बामा पूर्व क्षेत्रका गुरुङ समुदायका सदस्य तथा लामा गुरुङसँग बौद्ध धर्म र गुरुङ संस्कार, संस्कृतिबारे विस्तृत छलफल तथा सुझाव सङ्कलन कार्यक्रम आयोजना गरिने जानकारी दिनुभयो।
यसैगरी, नेपाल, भारत भुटान र संयुक्त राज्य अमेरिका गरि चार देशका प्रतिनिधिसँग जेठ ३ गते भारतको सिलगुढीमा, जेठ ४ गते सिक्किमको मेघीडाँडास्थित रिन्छेनछोइलिङ गुम्बा, जेठ ५ मा गान्तोक, जेठ ६ गते याङ–याङ लगायत भारतका दर्जलिङ र खर्साङमा अन्तरक्रिया एवम् छलफल कार्यक्रम आयोजना गरिने उहाँको भनाइ छ।
उहाँले आगामी दिनमा परिषद्ले गुरुङ लामाहरुको शिक्षा दिक्षाका क्रममा बौद्ध दर्शनसँगै गुरुङ पेक्ष्याको पनि प्रशिक्ष दिने गरि योजना बनाएको जानकारी दिनुभयो।
कार्यक्रममा अन्तर्राष्ट्रिय गुरुङ बुद्धिजम परिषदका उपाध्यक्ष एवम् राष्ट्रिय गुरुङ बुद्धिजम परिषद् नेपालका अध्यक्ष धु्रवबहादुर गुरुङ, परिषद्का उपाध्यक्ष डा. छम्प मेघी लामा गुरुङ, महासचिव पुष्पबहादुर गुरुङ उपस्थित हुनुभएको थियो।