• १२ मंसिर २०८१, बुधबार

जापनिज ईन्सेफ्लाइटिसबाट एक जनाको मृत्यु

blog

मीना कंडेल

कावासोती, भदौ १९ गते । नवलपुर जिल्लामा जापनिज ईन्सेफ्लाइटिसबाट एक जनाको मृत्यु भएको छ । कावासोती नगरपालिकाका एक जना, देवचुली नगरपालिकाका एक जना गरी दुई जनामा यो सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईँले जानकारी दिनुभयो ।  

कावासोतीका सङ्क्रमित एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । यस्तै, उस्तै लक्षण देखिएका अर्का एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । देवचुलीका सङ्क्रमित हुनेमा वडा नम्बर १७ का महिला रहेको कावासोती नगरपालिका स्वास्थ्य शाखाका कृष्णप्रसाद नागिलाले बताउनुभयो ।

क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट लाग्ने यो रोगबाट नवलपुरमा गत आव मा सात जनामा जापनिज ईन्सेफ्लाइटिस पुष्टि भएको थियो । पाँच जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । बिरामीलाई उच्च ज्वरो आउने, वान्ता हुने, घाटी दुख्ने, चेतना हराउने, बेहोस हुने लगायतका लक्षण देखा पर्ने उहाँले बताउनुभयो । 

यो रोग लागेपछि बिरामीको मृत्यु हुनसक्ने सम्भावना धेरै हुने भएकाले पहिले नै सचेत हुनुपर्ने उहाँको भनाइ छ । कुनै लामखुट्टेले जापनिज इन्सेफलाइटिस भाइरस भएको जनावरलाई (जस्तै सुँगुर वा जलपंक्षी) टोकेर त्यही लामखुट्टेले मानिसलाई टोकेपछि यो रोग मानिसमा सर्ने गर्दछ ।