• १२ मंसिर २०८१, बुधबार

जिम्बाबेका नवनिर्वाचित राष्ट्रपतिद्वारा शपथ ग्रहण

blog

राष्ट्रपतिको शपथग्रहण गर्नुहुँदै जिम्बाबेका नवनिर्वाचित राष्ट्रपति इमर्सन मनाङ्गाग्वा । तस्बिर : सिन्ह्वा

काठमाडौं, भदौ १९ गते । जिम्बाबेका नवनिर्वाचित राष्ट्रपति इमर्सन मनाङ्गाग्वाले राष्ट्रपतिको शपथग्रहण गर्नुभएको छ ।

उहाँको शपथग्रहण कार्यक्रममा हजारौँ जिम्बाबेवासी हरारेको खेलकुद स्टेडियममा भेला भएका थिए । आफ्नो उद्घाटन भाषणमा उहाँले राष्ट्रलाई एकताबद्ध रहन आग्रह गर्नुहुँदै सरकारले सबै जिम्बाबेवासीको जीवन परिवर्तनको सुनिश्चित गर्ने आश्वासन दिनुभयो ।

उहाँले क्षेत्रीय र अन्य विदेशी विशिष्ट व्यक्तिको उपस्थितिमा सोमवार आफ्नो दोस्रो पाँच वर्षको कार्यकालका लागि शपथ लिनुभएको हो । गत महिनाको आम चुनावमा उहाँले ५२.६ प्रतिशत मत प्राप्त गर्नुभएको थियो । उहाँले भाषणका क्रममा आफूलाई पुनः नेतृत्वका लागि चयन गरेकोमा जिम्बाबेवासीलाई धन्यवाद दिनुुहँदै आगामी ५ वर्षमा देशलाई एकताबद्ध गर्दै आधुनिकीकरण र विकास गर्ने प्रतिबद्धता जनाउनुभयो ।

राष्ट्रपति मनाङ्गाग्वाले निर्वाचनले जिम्बाबेमा लोकतन्त्रलाई बलियो बनाएको बताउनुभयो । उहाँले आफूले पुनः एकपल्ट देशको लागि सेवा गर्न पाएको भन्दै जिम्बाबेका जनताका सेवा गर्न आफू प्रतिबद्ध रहेको जनाउनुभयो । उहाँले अखण्डता, निष्पक्षताका साथ राष्ट्रिय संविधान र कानुनको पालना गरेर अघि बढ्नेमा जोड दिनुभयो ।

राष्ट्रपति मनाङ्गाग्वाले आफ्नो नयाँ कार्ययोजनामा ग्रामीण विकासलाई तीव्रता दिने, राष्ट्रिय खाद्य सुरक्षालाई सुदृढ पार्ने, देशको पूर्वाधारको आधुनिकीकरण गर्नुका साथै देशको उत्पादन क्षमता र उर्जा आपूर्ति बढाउने बताउनुभयो । उहाँले जिम्बाबे अन्य देशहरुसँग पनि आफ्नो सम्बन्ध सुधार र विस्तार गर्न तयार रहेको जानकारी दिनुभयो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल