छविलाल पाण्डे
बुटवल, भदौ १९ गते । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको नयाँ नेतृत्वको लागि आज बिहानबाट मतदान हुने भएको छ । सोमबार रातिसम्मै सहमतिको लागि नेताहरूले गरेको प्रयास सफल हुन नसकेपछि मङ्गलवार बिहानदेखि मतदान हुन लागेको हो ।
आइतबार साँझ प्रदेश कमिटी अध्यक्षमा दुई जनाले उम्मेदवारी दर्ता गरे पनि सोमबार दिनभरि नै सहमतिका लागि नेताहरूबिच अन्तिम कसरत भएको थियो । प्रमुख निर्वाचन अधिकृत हरि भण्डारीले सोमबार राति ८ बजेदेखि मतदान हुने भनिए पनि रातिको समय भएकोले आज बिहानदेखि मतदान गर्ने तयारी गरिएको बताउनुभयो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेशको नयाँ नेतृत्व सर्वसम्मत बनाउन निर्देशन दिए पनि दुई पक्षबीच कुरा नमिल्दा निर्वाचन हुने भएको हो । अध्यक्षमा आइतबार साँझ नै पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरि रिजालले उम्मेदवारी दिनुभएको थियो । अध्यक्षमा दुई जनाको उम्मेदवारी परेपछि लुम्बिनी प्रदेशमा स्पष्ट रुपमा दुई गुट देखिएको छ ।
अध्यक्षका प्रत्याशीद्वय निवर्तमान लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेललाई एमाले उपाध्यक्ष विष्णु पौडेलको साथ छ भने एमाले केन्द्रीय सदस्य रिजाललाई एमाले महासचिव शङ्कर पोखरेलको साथ छ ।
अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव सहित २०५ सदस्यीय प्रदेश कमिटी निर्वाचित हुनेछ । यसैबिच लुम्बिनी प्रदेश कमिटीको सचिवमा दाङका लक्ष्मण आचार्य निर्विरोध निर्वाचित हुनुभएको छ ।