• १० मंसिर २०८१, सोमबार

धार्मिक पर्यटनको सम्भावना बोकेको सनवागढ (फोटो फिचर)

blog

मन्दिरमा पूजा गरिँदैआएको ढुङ्गाले बनेको प्राचीन मूर्ति । तस्बिर : जानु पाण्डे

जानु पाण्डे 

कपिलवस्तु, भदौ १८ गते । कपिलवस्तुको शिवराज नगरपालिका –३ को भितरीयामा सनवागड मन्दिर छ । यो मन्दिर चन्द्रौटा बजारदेखि करिब ८ किलो मिटर उत्तरतर्फ अवस्थित छ । 

सुकबेल र बेल नदीले बनाएको टापुमा रहेको सनवागडमा ढुङ्गाले कुँदिएको प्राचीन मूर्ति पूजा गरिँदै आएको पुजारी रामप्रसाद यादवले बताउनुभयो । मन्दिर परिसरमा रहेको माटो र प्राचीन इँटाले निर्माण भएको ढिस्कोमा सो मूर्ति फेला परेको बताइन्छ । कहिले फेला परेको भन्ने यकिन भने छैन । 

मन्दिरमा करिब १ फुट लामो ढुङ्गा रहेको छ । सो ढुंगाा उचालेर भाकल गर्दा मनोकामना पूरा हुने जनविश्वास छ । स्थानीय बुढापाकाका अनुसार अन्नबालीमा चर्दैगरेको एउटा साँढेलाई बन्चरो प्रहार गर्दा काटिएको थियो । त्यसको अर्को दिन मन्दिर नजिकै ढुङ्गा फेला परेको विश्वास गरिन्छ । बन्चरोले काटेजस्तो देखिने ढुङ्गालाई साँढे (नन्दी) मान्ने गरिन्छ ।  

परापूर्वकालमा राजाले सुनका खजाना लुकाएको किंवदन्तीले सनवागढ नाम रहन गएको मन्दिर समितिका अध्यक्ष हर्जु थारुले बताउनुभयो । सो क्षेत्रमा ५ स्तुपा रहेका छन् । अन्दाजी ३० वर्ष अगाडि चोरको समूहले एउटा स्तुपा खनेको स्थानीय राजु खरालले बताउनुभयो । 

त्यो बेला पुरातात्त्विक सामग्री हराएको हुनसक्ने अनुमान गरिएको छ । सनवागढमा पुरातत्त्व विभागले २०७४ सालमा उत्खनन गरेको थियो । उत्खननमा गुप्तकालीन घोडाका मूर्ति, माटोका भाँडाका टुक्रा, इँटा फेला परेको लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनबहादुर केसीले बताउनुभयो ।