• १३ असोज २०८१, आइतबार

कोरोनाकालका बीमितलाई भुक्तानी दिन रुलिङ होस् : सचेतक बर्तौला

blog

नेकपा (एमाले) का सचेतक महेश बर्तौला । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, भदौ १८ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले कोरोनाकालका बीमितहरुको रकम तत्काल उपलब्ध गराउन सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउनुभएको छ । 

सरकारले सो बीमावापतको करिब ११ अर्ब रकम उपलब्ध गराउन चासो नदिएको चर्चा गर्नुहुँदै सचेतक बर्तौलाले सो सम्बन्धमा सरकारलाई रुलिङ गर्न सभामुख घिमिरेसँग माग गर्नुभएको हो । 

सोमबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा धारणा राख्दै सचेतक बर्ताैलाले सरकारले नागरिकको सरोकारको विषयमा बेवास्ता गरिरहेको आरोप समेत लगाउनुभयो । 

उहाँले भन्नुभयो, ‘विगत ४ वर्षदेखि देशका एक लाख ५० हजारभन्दा बढी नागरिकले कोरोनाको बीमा गरेका थिए । त्यसबापतको रकम अहिलेसम्म भुक्तानी पाएका छैनन् । ११ अर्व रकम सरकारले तिर्न बाँकी छ । सरकारलाई त्यसको किन चासो भएन ? सभामुख महोदय विशेष रुलिङ होस् ।’

सचेतक बर्तौलाले मकवानपुरस्थित इन्द्रसरोबर तालको तत्काल सफाइको व्यवस्था मिलाउन पनि सरकारसँग आग्रह गर्नुभयो ।