काठमाडौं, भदौ १८ गते । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवम् सांसद जनार्दन शर्माले रुकुम पश्चिम, जाजरकोट र सल्यानको केही भागमा हावाहुरीसहित ठूलो धनजनको क्षति भएको उल्लेख गर्नुहुँदै तत्काल राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।
उपमहासचिव शर्माले सोमबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै उहाँले यही भदौ १७ गते हावाहुरीसहितको अविरल वर्षाका कारण मृत्यु भएको रुकुममा दुई बालिबालिका र जाजरकोटका एक जनाको मृत्युप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुहुँदै पीडित परिवारलाई उचित राहत र क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले त्यसक्रममा त्यहाँ मुख्यबालीको रुपमा रहेको मकैबाली पनि नष्ट भएकाले उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारले ढिलाई गर्न नहुने बताउनुभयो । उपमहासचिव शर्माले पीडितलाई राहत दिने काममा स्थानीय सरकार लागि परेपनि सङ्घीय सरकारले अझै पहल नगरेको गुनासो समेत गर्नुभयो ।
‘‘यही भदौ १७ गते रुकुम पश्चिम चौरहजारी नगरपालिका केन्द्र भई हावाहुरीसहितको वर्षाले ठूलो जनधनको क्षति भएको छ । खहरेखोलामा आएको बाढीले रत्नबहादुर बुढाथोकीका ८ वर्षीय छोरा मनोज र ४ वर्षीया छोरी भावना बुढाथोकीको खहरे खोलाले बगाएर मृत्यु भएको छ । यसैगरी, जाजरकोटमा चटयाङ परी एक जनाको मृत्यु भएको छ ।,’’ उपमहासचिव शर्माले भन्नुभयो, ‘‘चौरहजारी वडा नम्बर १, २ र ३, ६, १२ ८ लगायतका समग्र पालिकाभरी, सल्यानको केही भाग र जाजरकोटको यो हावाहुरीसहितको अविरल वर्षाका कारण त्यहाँको मुख्यबाली मकैबाली हो । मकैबाली पूर्ण रुपले नष्ट भएको छ । घरको टिनको छाना उडाएर क्षति भएको छ । उक्त क्षतिबारे आवश्यक राहत र क्षतिपूर्तिका लागि स्थानीय सरकारले पहल गरिराखेको छ । प्रदेश सरकारले पनि आफ्नो ठाउँबाट पहल गर्नेछ । विशेष गरेर सङ्घीय सरकारको क्षतिपूर्तिका लागि, राहतका लागि म ध्यानाकर्षण गराउन चाहन्छु ।’’
उपमहासचिव शर्माले प्रदेश सरकारले पनि सो घटनाका पीडितलाई तत्काल राहत र क्षतिपूर्तिको आवश्यक व्यवस्था मिलाउने विश्वास व्यक्त गर्नुभयो ।