• ३१ वैशाख २०८१, सोमबार

एमाले लुम्बिनी अधिवेशन: अध्यक्षमा कँडेल र रिजालको उम्मेदवारी, मतदान हुँदै

blog

एमालेको बुटवलमा जारी लुम्बिनी प्रदेश अधिवेशनको बन्द सत्र । तस्बिर: कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, भदौ १८ गते । नेकपा (एमाले) को प्रथम लुम्बिनी प्रदेश अधिवेशनमा अध्यक्ष पदका लागि २ जनाको उम्मेदवारी परेको छ । अध्यक्षका लागि हालका अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय कमिटी सदस्य हरि रिजालले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

दुई पक्षबिच सहमतिका लागि लामो प्रयास सफल भएको छैन । यद्यपि सहमतिको विकल्प अझै नटुङ्गिएको दुवै नेताले बताएका छन् । आइतबार दिनभर जारी रहेको निर्वाचन प्रक्रिया नटुङ्गिएपछि निर्वाचन मण्डलले सोमबार बिहान १० बजेसम्मका लागि सबै काम स्थगित गरेको संयोजक हरिप्रसाद भण्डारीले बताउनुभयो । आइतबार निर्वाचन प्रक्रिया अन्तर्गत मतदाताहरूको नामावली प्रकाशन तथा मनोनयन दर्ता गराएको भएपछि थप प्रक्रिया स्थगित गरेको हो । आज बिहानैदेखि प्रक्रिया पूरा गरी उम्मेदवारहरूको नामावली प्रकाशन, दाबी विरोध, फिर्ता लगायतका काम गरिने निर्वाचन मण्डलले बताएको छ । 

यो सँगै पार्टीका केन्द्रीय पदाधिकारी र सदस्यहरू समेत दुई भागमा विभाजित भएका छन् । अधिवेशनका लागि १२ वटै जिल्लाका ८२ हजार ८९५ पार्टी सदस्यबाट छानिएका प्रतिनिधि तथा विभिन्न २३ वटा जनसङ्गठनबाट छानिएका गरी १ हजार जना प्रतिनिधि सहभागी छन् । 

अधिवेशनले यसअघि ५७६ सदस्यीय रहेको प्रदेश सङ्गठन कमिटीलाई २०५ सदस्यीय बनाउनेछ । सम्मेलनका लागि रुपन्देहीबाट सबैभन्दा धेरै १ सय ६४, कपिलवस्तुबाट ७२, दाङबाट १३१, बाँकबाट ५४, बर्दियाबाट ७४, रुकुमपूर्वकबाट १२, रोल्पाबाट २७, प्युठानबाट ५७, अर्घाखाँचीबाट ८२, गुल्मीबाट १११, पाल्पाबाट ८३ र पश्चिम नवलपरासीबाट ५२ जना प्रतिनिधि छनोट भएका छन् । त्यस्तै जनसङ्गठनबाट ८३ गरी जम्मा १ हजार जना प्रतिनिधि छनोट भएका एमाले प्रचार प्रसार विभाग प्रमुख डिआर घिमिरेले बताउनुभयो । 

प्रदेशको पहिलो अधिवेशन भएकाले लुम्बिनीबाट जाने सन्देशले ठुलो महत्त्व राख्ने भन्दै अध्यक्ष केपी शर्मा ओलीले सकेसम्म सहमतिमा नेतृत्व चयन गर्न निर्देशन दिए पनि नेताहरूले निर्देशन पालना गरेका छैनन् । यस अघिसम्म एमालेका अन्य सङ्गठनहरूमा भने अध्यक्ष ओलीको ठाडो निर्देशनमा कमिटी गठन हुने गरेको थियो । कँडेल उपाध्यक्ष विष्णु पौडेल निकट र रिजाल महासचिव शङ्कर पोखरेल निकट मानिनुहुन्छ ।