सर्लाही समाचारदाता
सर्लाही, भदौ १८ गते । सदरमुकाम मलङ्गवा नगरपालिकामा रहेको सुविधा बचत तथा ऋण सहकारी संस्थाले बचत रकम हिनामिना गरेपछि बचतकर्ता आन्दोलित बनेका छन् । बचतकर्ताले आइतबारदेखि जिल्ला प्रशासन कार्यालय मलङ्गवाअगाडि धर्ना सुरु गरेका हुन् । मलङ्गवा नगरपालिका–८ मा रहेको सहकारीका अध्यक्ष ईश्वर गुप्तालगायतका पदाधिकारी रकम हिनामिना गरेर फरार भएपछि बचतकर्ताले भदौ ७ गते जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाई संस्थाका पदाधिकारीलाई पक्राउ गरी आफूहरूको बचत रकम फिर्ता गराइदिन माग गरेका थिए ।
ज्ञापनपत्र बुझाएको १० दिनसम्म पनि फरार रहेका सञ्चालक पक्राउ नपरेका कारण हिनामिना भएको रकम फिर्ता हुने आधार नदेखिएको भन्दै बचतकर्ता र सेयर सदस्यले आइतबारदेखि अनिश्चितकालीन धर्ना सुरु गरेका हुन् । सहकारीमा जम्मा गरेको रकम फिर्ता पाउनुपर्ने मुख्य माग राखेर धर्ना सुरु गरिएको सङ्घर्ष समितिका संयोजक राजेन्द्र साहले बताउनुभयो ।
“चिया बेच्ने, ठेला चलाउने तथा दैनिक मजदुरी गर्नेले जम्मा गरेको रकमसमेत हिनामिना भएको छ,” संयोजक साहले भन्नुभयो, “हामीले खाइनखाइ बचत गरेको रकम तुरुन्त फिर्ता हुनु पर्छ ।” आन्दोलित बचतकर्ताले आफूहरूको बचत रकम अविलम्ब फिर्ता हुनुपर्ने, सञ्चालकमाथि कारबाही तथा सम्पत्ति रोक्का हुनुपर्ने, स्वतन्त्र लेखा परीक्षण हुनुपर्ने, संंस्थाको अवस्थाबारे श्वेतपत्र जारी हुनुपर्ने र आर्थिक वर्ष २०७७/७८, २०७८/७९ तथा २०७९/८० मा सञ्चालकहरूले लिएको ऋणको विवरण सार्वजनिक गर्नुपर्ने माग राखेका छन् ।
संस्थामा करिब २४ करोड रुपियाँ हिनामिना भएको भन्दै पीडितले उजुरी दिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । संस्थाका अध्यक्ष ईश्वर गुप्ताको खोजी जारी रहेको सर्लाहीका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो । सहकारीबाट रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका संस्थाका प्रबन्धक दीपकलाल अमात्य, खजान्ची निर्मल श्रेष्ठ, कर्मचारी उमेश अधिकारी र कामेश्वर सिंह भने पुर्पक्षका लागि कारागार चलान भएका छन् ।