• २४ वैशाख २०८१, सोमबार

चिया बगान र कारखाना बन्द गर्ने चिया श्रमिकको घोषणा

blog

लीलाराज झापाली

बिर्तामोड, भदौ १७ गते । चिया श्रमिकहरूले भदौ १८ गतेदेखि सम्पूर्ण चिया बगान र कारखाना बन्द गर्ने भएका छन् । आफ्ना माग पुरा गराउन पटक-पटक अल्टिमेटम दिएपनि बगान सञ्चालकहरूले बेवास्ता गरेपछि आन्दोलनरत चिया श्रमिकहरूले चिया बगान र कारखाना बन्द गर्ने निर्णय गरेका हुन् 

नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयमा भएको जिल्लाका चिया श्रमिक र श्रमिक नेताहरूको भेलाबाट सम्पूर्ण चिया बगान बन्द गर्ने निर्णय गरिएको नेपाल कृषि तथा बगानक्षेत्र श्रमिक सङ्घका राष्ट्रिय संयोजक सन्तकुमार राईले बताउनुभयो । चिया श्रमिकहरू विगत दुई महिनादेखि आन्दोलनरत छन् । 

मजदुरहरूले यसअघि भदौ ७ गतेदेखि नै बन्दको कार्यक्रम घोषणा गरेपनि माग सम्बोधन हुने आशामा आफूहरूले त्यसलाई भदौ १७ गतेसम्म स्थगित गरेको राईले बताउनुभयो । बगान सञ्चालकहरूले आफूहरूको मागप्रति पटक्कै वास्ता नगरेपछि बाध्य भएर बन्द हडतालको कार्यक्रम खेप्नुपरिरहेको नेपाल कृषि तथा बगानक्षेत्र श्रमिक सङ्घका राष्ट्रिय संयोजक राईले बताउनुभयो ।

गत भदौ १ गते नेपाल सरकारले श्रमिकहरूको पारिश्रमिक निर्धारण गरी उक्त पारिश्रमिक भदौ १ गतेबाट लागु हुनेगरी राजपत्र समेत प्रकाशन गरी सकेकोले सोही मितिदेखि चियाबगानमा सो अवधिमा कार्यरत रहेका स्थायी तथा मौसमी कामदारहरुले समेत उक्त पारिश्रमिक पाउने व्यवस्था गर्नुपर्ने, अन्य पत्ति डबली वृद्धि, रोजगार सम्झौता र योगदानमा आधारित सामाजिक सुरक्षाकोषमा सबै चिया श्रमिकहरूलाई सूचीकृत गर्नुपर्ने मजदुरहरुको माग रहेको छ ।

नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घका उपाध्यक्ष सहीकुमार राईको अध्यक्षतामा भएको कार्यक्रममा ट्रेड युनियन कांग्रेसका झापा जिल्ला अध्यक्ष यज्ञप्रताप अधिकारी, नेपाल कृषि तथा बगानक्षेत्र श्रमिक सङ्घका राष्ट्रिय संयोजक सन्तकुमार राई, नेपाल चिया बगान श्रमिक सङ्घका अध्यक्ष दीपक तामाङ लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन अखिल नेपाल चिया मजदुर संघकी अध्यक्ष सिता सापकोटाले गर्नुभएको छ ।