राधा नेपाली
सन्धिखर्क, भदौ १७ गते । डिभिजन वन कार्यालय अर्घाखाँचीले राजस्व संङ्कनमा ९४.२९ प्रतिशत वित्तीय प्रगति गरेको छ । गत आर्थिक वर्ष २०७९–८० मा सात करोड २४ लाख १४ हजार २९५ रुपियाँ राजस्व संङ्कननगरी सोचेभन्दा बढी वित्तीय प्रगति गरेको हो ।
कार्यालयले सामुदायिक तथा निजी वनको वन पैदावारका विभिन्न शीर्षकमा उक्त राजस्व सङ्कलन गरेको हो । वन कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदनमा ९४.२९ प्रतिशत वित्तीय प्रगति गरेको जनाएको छ । आफूहरूले ९७ प्रतिशत भौतिक प्रगति हासिल गरेको डिभिजन वन कार्यालय अर्घाखाँचीका सहायक वन अधिकृत मोतीराम पौडेलले बताउनुभयो ।
प्रतिवेदनअनुसार सामुदायिक तथा निजी वनको वन पैदावारबाट २ करोड १८ लाख ६४ हजार १५१ रुपियाँ, वन क्षेत्रको रोयल्टीबाट २ करोड ३८ लाख ६० हजार ८५२ रुपियाँ राजस्व सङ्कलन भएको छ । त्यस्तै, मूल्य अभिवृद्धि करबाट १ करोड ५८ लाख ८ हजार ७२५ रुपियाँ सङ्कलन भएको छ ।
अधिकृत पौडेलले भन्नुभयो, “अग्रिम आयकरबाट १ करोड ४ लाख १५ हजार २४४ रुपियाँ राजस्व सङ्कलन भएको छ । विगतको तुलनामा निकै राम्रो प्रगति भएको देख्न सकिन्छ । कार्यालयको ९४ प्रतिशत वित्तीय प्रगति भएको छ ।” विभिन्न प्रशासनिक सेवा तथा बिक्री शुल्कबापत ३ लाख ६८ हजार ३ सय र बेरुजुबाट ९७ हजार २३ रुपियाँ सङ्कलन भएको छ ।
त्यस्तै, डिभिजन वन कार्यालय अर्घाखाँचीले एक वर्षमा ७८ हजार ७५ वटा बोटबिरुवा रोपेको छ । रोपिएका बिरुवामध्ये जडीबुटीजन्य ६२ हजार पाँच सय, डालेघाँस ६ हजार ९५०, वनजन्य ६ हजार सातसय, विभिन्न प्रजातिका फुलजन्य १ हजार र फलफूल ९ सय २५ बोटबिरुवा रोपण गरिएको डिभिजन वन कार्यालय अर्घाखाँचीले जनाएको छ । यी बिरुवा जिल्लाका विभिन्न स्थानको ५१.५ हेक्टर क्षेत्रफलमा रोपिएको छ ।