• १५ मंसिर २०८१, शनिबार

वार्षिक तिस हजार मेट्रिक टन विषादी प्रयोग

blog

बाबुराम कार्की

वराहक्षेत्र (सुनसरी), भदौ १८ गते । खाद्यान्न र तरकारी बाली उत्पादनका लागि उर्वर भूमि मानिने सुनसरी जिल्लामा पछिल्लो समय तरकारी, धान, मकै, गहुँलगायतका अन्नबालीमा विषादीको प्रयोग बढी हुने गरेको छ । 

सुनसरीका किसानले रोग, किरा नियन्त्रण गरी बढी उत्पादन गर्न पाउँदा खुसी भए पनि विषादीको प्रयोग बढ्दै गइरहेको बताएका छन् । सिफारिसको मात्राभन्दा बढी प्रयोग गर्नाले विषादीको दुरुपयोग बढेर गएको हो । खाद्यान्न र तरकारीमा प्रयोग हुने विषादीको परिमाण कम गर्न सरकारले २९ वर्षदेखि ‘राष्ट्रिय एकीकृत शत्रु जीव व्यवस्थापन कार्यक्रम (आईपीएम)’ सञ्चालन गर्दै आए पनि विषादी प्रयोगमा भने कुनै कमी आएको छैन । 

कृषि ज्ञान केन्द्र सुनसरीका सूचना अधिकृत प्रवीणलाल श्रेष्ठका अनुसार जिल्लामा आर्थिक वर्ष २०७९/८० मा ३० हजार मेट्रिक टन विषादी किसानले तरकारी, नगदे बालीलगायतका अन्नबालीमा प्रयोग गरेका छन् । किसानले रोगनाशक विषादी ४० प्रतिशत र ढुसीनाशक पाउडर ६० प्रतिशत प्रयोग गर्दै आएको श्रेष्ठले बताउनुभयो । 

कृषि ज्ञान केन्द्र सुनसरीले विषादी नियन्त्रण गर्न प्रयास जारी राखे पनि खुला सिमानाका कारण विषादी प्रयोगमा नियन्त्रण हुन सकेको छैन । किसानहरू विषादीको असरबारे जानकार हुँदाहुँदै पनि कडा विषादीको प्रयोग गर्ने गरेकाले पनि नियन्त्रण गर्न गाह्रो भएको सूचना अधिकृत श्रेष्ठले बताउनुभयो । कृषि अनुसन्धान निर्देशनालय कोशी प्रदेश तरहराका कृषि प्राविधिक अधिकृत विनोद यादवका अनुसार रातो लेबल भएको विषादीले तत्कालै रियाक्सन देखाउने भएकाले यसको प्रयोग किसानले बढी गर्दै आएका छन् ।   

कीटनाशक विषादी

बालीमा लाग्ने रोग, झारपात, मुसालाई नियन्त्रण गर्ने वा मार्ने उपयोगका लागि शत्रु जीवनाशक विषादी अति प्रभावकारी रासायन मानिन्छन् तर यी रसायनको दुरुपयोग बाली र मानव जगतका लागि खतरनाक छन् । यिनीहरूको प्रयोग प्रभावकारी र सुरक्षित तरिकाबाट गर्न कृषकलाई यस्ता विषादीको आधारभूत ज्ञान हुन आवश्यक रहेको सूचना अधिकृत प्रवीणलाल श्रेष्ठको भनाइ छ । 

ढुसीलाई नियन्त्रण गर्न ढुसीनाशक विषादी, झारपात नियन्त्रणका लागि झारपातनाशक, मुसालाई नियन्त्रणका लागि मुसानाशक जस्ता लक्षित शत्रु जीवका आधारमा विषादीको प्रयोग नगरी जथाभाबी रूपमा विषादीको प्रयोग गर्नाले विषादीको दुरुपयोग बढेर गएको हो ।  रासायनिक विषादी प्रायः तेल र बोसोमा तयार हुन्छ । त्यसैले यसको रियाक्सन लामो समयसम्म हावा, पानी र वातावरणमा रहिरहने विज्ञहरू बताउँछन् । 

नेपालमा २४ प्रकारका विषादी प्रतिबन्धित छन् । प्रतिबन्धित विषादी क्लोरोडेन, डिडिटी, डाइएल्ड्रिन, इन्ड्रिन, अल्ड्रिन, हेप्टाक्लोर, माइरेक्स, टोक्साफेन, बिएचसी, लिन्डेन, फस्फामिडन, आर्गानो मर्करी कम्पाउन्ड, मिथाइल पाराथियन, मोनोक्रोटोफस, इन्डोसल्फान, फोरेट, कावोफ्युरान, कार्बारिल, डाइक्लोरोभस, ट्राइजोफस, बेनोमिल, कार्बोसल्फान, डाइकोफल, एल्मोनियम फस्फाइड ३ ग्राम टेबलेट छन् । 

विषादीको असर 

बालीनालीमा लाग्ने विभिन्न शत्रुजीव नियन्त्रणका लागि प्रयोग हुने रासायनिक विषादी मानिस र पशुपन्छीका लागि  घातक हुने गरेको छ । विषादीको अत्यधिक प्रयोगले हावा, पानी, माटोलगयत समग्र पर्यावरणलाई नै प्रदूषित गर्छ । सिफारिस मात्राभन्दा विषादीको बढी प्रयोगले मानव स्वास्थ्य र वातावरणमा प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव पार्ने गर्छ ।