राधा नेपाली
सन्धिखर्क, भदौ १६ गते । ‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ मुख्य नारासहित शनिबारबाट सुरु हुने नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ को पहिलो दिन अर्घाखाँचीका छ पालिकाका ६१ वडामा अभियान सुरुभएको छ ।
अभियानमा केन्द्रीय सदस्य तथा जिल्लाका नेता कार्यकर्ताहरू वडामा भएका कार्यक्रममा सहभागी हुनुभएको छ । पाणिनी गाउँपालिकामा भएको कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं तीन महिना अभियानका अर्घाखाँची जिल्ला इन्चार्ज बामदेव क्षेत्री सहभागी हुनुभएको थियो ।
भूमिकास्थान नगरपालिकामा केन्द्रीय सदस्य सरस्वती न्यौपाने, छत्रदेव गाउँपालिकामा केन्द्रीय सदस्य अनिलकिशोर घिमिरे, सितगंगा नगरपालिकामा केन्द्रीय सदस्य गोविन्द केसी र सन्धिखर्क नगरपालिकामा जिल्ला संयोजक राजेन्द्र भुसालको नेतृत्वमा पहिलो दिनको अभियान सम्पन्न भएको छ ।
माओवादी केन्द्रका अर्घाखाँची जिल्ला संयोजक भुसालले भन्नुभयो, “अभियानले नेता कार्यकर्तामा उत्साह ल्याएको छ । आजको कार्यक्रममा अपेक्षा गरिएभन्दा बढी सङ्ख्यामा जनताको सहभागिता छ । अभियानमा हामी जनताको घरमा गएर जनताको समस्या र माओवादी र सरकारप्रतिको बुझाइका बारेमा छलफल र अभियान गर्नेछौँ ।” जिल्लामा माओवादी केन्द्रका चारहजार ३४४ जना सक्रिय सदस्य रहेका छन् ।