• २४ वैशाख २०८१, सोमबार

मैदान छाडेका पारसलाई पदाधिकारीमा एकपछि अर्को सफलता

blog

पारस खड्कालाई बधाई दिँदै पूर्व कप्तान ज्ञानेन्द्र मल्ल ।

काठमाडौं, भदौ १६ गते । दुई वर्षअघि क्रिकेट खेलाडीबाट सन्‍यासको घोषणा गर्नुभएका पारस खड्काले सन्न्यास लिएको बेलामै नेपाल क्रिकेट सङ्घ (क्यान) को पदाधिकारीमा आउने इच्छा व्यक्त गर्नुभएको थियो ।

पारसको उक्त इच्छाले दुई वर्षपछि सफलता पाएको छ । दुई साताअघि मात्र काठमाडौँ जिल्ला क्रिकेट सङ्घको सदस्यमा निर्वाचित हुनुभएका पारस शुक्रबार क्यान बागमती प्रदेशको अध्यक्षमा निर्वाचित हुनुभएको छ । पारसको अबको योजना केन्द्रीय पदाधिकारी लड्ने रहेको छ ।

क्यान केन्द्रीय अध्यक्षकै प्रत्याशी रहनुभएका पारसले सचिव पदमासमेत मिलेर जानसक्ने बताइएको छ। बागमती प्रदेशको निर्वाचनमा पारसले चितवन क्रिकेट सङ्घका अध्यक्ष उमेश पिया पराजित गर्दै प्रदेश अध्यक्ष बन्नुभएको हो ।

३७ मतमध्ये पारसले २३ र पियाले १४ मत ल्याउनुभएको थियो । यस्तै उपाध्यक्षमा प्रेमबहादुर क्षेत्री र सचिवमा सञ्जय बस्नेत विजयी हुनुभयो । उहाँहरू दुवैले २३ मत ल्याउनुभएको थियो । 

प्रदेश सदस्यमा अजयवीर पाण्डे, अनिल अधिकारी, सन्जोग पोखरेल, सुजन महर्जन, धिरज श्रेष्ठ, शेखर श्रेष्ठ र वसन्तराज सत्याल निर्वाचित हुनुभयो । महिला सदस्यमा महिला टोलीकी पूर्व कप्तान नीरा राजोपाध्याय निर्विरोध हुनुभयो । बागमती प्रदेशको निर्वाचनसँगै क्यानको जिल्ला र सातै प्रदेशको निर्वाचन सकिएको छ । 

क्यान कोशी प्रदेश अध्यक्षमा सर्वजित् पाण्डे निर्वाचित हुनुभएको छ । यस्तै मधेश प्रदेशमा सुनिलकुमार महासेठ, गण्डकीमा सञ्जयकान्त सिग्देल, लुम्बिनीमा सञ्जय गुरुङ, कर्णालीमा पदमबहादुर खड्का र सुदूरपश्चिममा वासुदेव जोशी अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

असोज असोज ५ र ६ गते हुने क्यानको केन्द्रीय निर्वाचनमा अध्यक्ष चतुरबहादुर चन्दले पुनः दोहोरिने सङ्केत गर्नुभएको छ । चन्दलाई कोषाध्यक्ष रोशन सिंह र पारस खड्काले चुनौती दिने तयारी गरिरहनुभएको छ । चन्द पक्षले पारसलाई सचिव पदमा मिलाएर लैजाने तयारी गरिरहेको छ ।