• १४ मंसिर २०८१, शुक्रबार

गाउँबाट लोप हुँदैछ स्थानीय घैया धान

blog

व्यास नगरपालिका–१० दुम्सिचौरमा लगाइएको घैया धान । फाइल तस्बिर

अमरराज नहर्की

तनहुँ, भदौ १६ गते । केही वर्ष पहिलेसम्म तनहुँको अधिकांश पाखोबारीमा लगाइने घैया धान लोप हुने अवस्थामा पुगेको छ । घैया धानको खेती कृषकले गर्न छोडेपछि बीउ नै मासिएर लोप हुन लागेको हो । 

सिँचाइ सुविधा नपुगेको पाखोबारीमा यो खेती गर्न सकिने भएकाले पहिले अधिकांश कृषकले घैया धानको खेती गर्ने गर्दथे । ६ महिना पाखो बारीमा उब्जनी गरिएको घैया धान र ६ महिना खेतमा उब्जनी धान खेती गरेर वर्ष दिनका लागि अन्नको जोहो गर्ने गरेकोमा कृषकको आकर्षण घट्दा घैया धान लोप हुने अवस्थामा पुगेको हो । 

२० वर्षको अन्तरालमा तनहुँमा घैया धानको खेतीमा ३९० गुणा कमी आएको छ । जिल्लामा बि.सं २०६० सालमा तीन हजार ९०२ हेक्टर जमिनमा घैया धानको खेती गरिएकोमा हाल १० हेक्टरमा खेती गरिँदैआएको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनुभयो । 

जिल्लाको अधिकांश क्षेत्रमा गरिने यो धानखेतीमा मेहनत धेरै र उत्पादन कम हुँदा हिजोआज लोप हुने अवस्थामा पुगेको तिवारीले जानकारी दिनुभयो । घैयाप्रति कृषकको आकर्षण घट्दै जाँदा तनहुँलगायत देशैभर लोप हुने अवस्थामा पुगेको तिवारीको भनाइ छ । 

स्थानीयवासी पनि माटो खोस्रेर आफ्नै उत्पादन खानेभन्दा वैदेशिक रोजगारीबाट भित्रिएको पैसाबाट बजारबाट खाद्यान्न किनेर खान थालेकोले लोकल धान झन् लोप हुने अवस्थामा पुगेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘‘आफ्नो उत्पादनभन्दा बजारबाट किनेर खाँदा सस्तो पर्ने भएकाले खेती गर्न छाडेका छन् ।’’  

दुःख गरेर आकाशे पानीको भरमा यस्तो धान खेती गर्नुपर्ने भएकाले मौसम अनुकूल नहुने र मलखादको पनि राम्रो व्यवस्था नभएकाले धान उत्पादनमा बर्सेनि गिरावट आउँदैगरेको केन्द्रको भनाइ छ । 

मौसम परिवर्तनले लामो समय खडेरी पर्ने र सिँचाइको असुविधाले गर्दा खडेरीबाट बचाउन मुस्किल पर्ने भएकाले खेती गर्न छाडेको व्यास नगरपालिका –१० बैरेनी निवासी सुकमाया दरैले बताउनुभयो । दरैले भन्नुभयो, “हाम्रो पालाकाजस्तो आजकलमा मान्छेले दुःख गर्दैनन्, त्यही भएर धान खेती गर्न छाडेका छन् ।’’ 

केन्द्रका अनुसार तनहुँमा सिञ्चित क्षेत्रफल १३ हजार ५८३ हेक्टर रहेको छ बाह्रैमासा सिञ्चित क्षेत्र ६ हजार ३४७ हेक्टर, मौसमी सिञ्चित क्षेत्र सात हजार २३६ हेक्टर रहेको छ भने असिंचित क्षेत्र ३७ हजार ९२७ हेक्टर रहेको छ ।

जिल्लामा घैया धानका साथै मास, भटमाससमेत लोप हुने अवस्थामा पुगेको केन्द्रका प्रमुख तिवारीले बताउनुभयो । वैशाख–जेठमा घैया धान छर्ने र साउन र भदौ महिनामा धान भित्र्याएर जीविका चलाउने यहाँका कृषकले घैया धान लगाउनै छाडेपछि अहिले जिल्लाबाटै हराउँदै गएको छ । 

पौष्टिक तत्त्वको मात्रा अधिक हुने घैया धानको चामल खाँदा बास्ना आउने र चिउरा समेत स्वादिलो हुने भए पनि गाउँघरबाट लोप हुँदै गएपछि पछिल्लो पुस्ता यस खेतीप्रति अनभिज्ञ हुनेभएका छन् ।