• २६ पुस २०८१, शुक्रबार

सहिदका सपना पूरा गर्न जनताको अवस्था बदल्नुपर्छ : मन्त्री शर्मा

blog

दाङको घोराही १७ बर्गदीस्थित सहिदस्मृति पार्कमा आयोजित कार्यक्रममा सहभागी हुनुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा । तस्बिर : मन्त्री शर्माको सचिवालय

दाङ, भदौ १६ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हजारौँ सहिदको बलिदानकै कारण नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको बताउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) ले आज (शनिबार)देखि सुरु गरेको तीन महिने विशेष रूपान्तरण अभियान उद्घाटनका अवसरमा दाङको घोराही १७ बर्गदीस्थित सहिद स्मृति पार्कमा आयोजित कार्यक्रममा उहाँले अब सहिद सपना पूरा गर्ने गरी पार्टी र सरकार अघि बढ्ने बताउनुभयो ।

सहिदको बलिदानका कारण राजनीतिक व्यवस्था बदलिएको उल्लेख गर्नुहुँदै उहाँले अब सहिदका सपना पूरा गर्न जनताको अवस्था बदल्नुपर्ने बताउनुभयो ।

इतिहासमा पहिलोपटक सरकार जनतासित जोडिएको उल्लेख गर्नुहुँदै मन्त्री शर्माले सुशासन, समृद्धि र सामाजिक न्यायको बाटोमा अघि बढिरहेको बताउनुभयो । मन्त्री शर्माले वर्तमान सरकार गठन भएदेखि निरन्तर जनताको सेवा, सुविधा र सुशासनलाई प्राथमिकता राखिएको बताउनुभयो ।


माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत रहनुभएका मन्त्री शर्माले पार्टी जनतामा फकने अभियान सुरु भएको बताउनुभयो । शान्ति प्रक्रियापछि पार्टी पटक पटक सरकारमा गए पनि जनताले चाहेजस्तो परिवर्तनको अनुभूति गर्न नपाएको उल्लेख गर्नुहुँदै उहाँले अहिलेको सरकार गठन भएपछि जनताको पक्षमा काम हुन थालेकाले त्यसलाई जनताको बीचमा लैजान र जनताको गुनासो सरकारसमक्ष पुर्‍याउन यो अभियान सुरु गरिएको जानकारी दिनुभयो ।

सबै नेता कार्यकर्तालाई जनताको घरघरमा पुग्न आग्रह गर्नुहुँदै उहाँले राजनीतिलाई सेवाको रूपमा लिनुपर्ने बताउनुभयो । राजनीतिलाई व्यक्तिगत लाभमा प्रयोग गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने उल्लेख गर्दै उहाँले अनियमितता र भ्रष्टाचार गर्नेहरू आफ्नै भए पनि नछाड्ने सरकारको प्रतिबद्धता रहेको बताउनुभयो ।

यो ठाउँमा २०५८ मङ्सिर १३ गते धान दाइरहेका किसानमाथि तत्कालीन सेनाले गोली चलाउँदा ११ जनाको ज्यान गएको थियो । सहिदको शालिकमा माल्यार्पण गरी मन्त्री शर्माले अभियान उद्घाटन गर्नुभयो ।