मीना कँडेल
कावासोती, भदौ १६ गते । पूर्वी नवलपरासीमा व्यावसायिक च्याउ खेतीतर्फ आकर्षण बढ्दो छ। च्याउ खेती गर्ने कृषक मेहनत गरे राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन्। कावासोती नगरपालिका–८ मा रहेको पर्वत सेन ठकुरी कृषि फार्मका सञ्चालक ६० वर्षीय टीकाप्रताप सेन ठकुरी विगत तीन वर्षदेखि च्याउ खेतीमा नै रमाउनुभएको छ। उहाँको दैनिकी च्याउ बिक्रीवितरणमा बित्ने गरेको छ।
हरेक दिन बिहान च्याउ प्याकेजिङमै समय बिताउने ठकुरीले पहिले समयको सदुपयोगका लागि मात्रै घरमै च्याउ खेती सुरु गर्नुभएको थियो। अहिले भने व्यावसायिक रूपमै च्याउको खेती सुरु गर्नुभएको हो। टीकाप्रतापले भन्नुभयो, “केही गर्छु भन्ने इच्छाशक्ति भयो भने न पैसाले रोक्दो रहेछ, न त उमेरले नै छेक्दो रहेछ, मात्र काम गर्ने जोस जाँगर चाहिँदो रहेछ।”
च्याउ खेती गरेर स्थानीय उपभोक्तालाई ताजा च्याउ उपभोग गराउने उद्देश्य रहेको ठकुरीले बताउनुभयो। तीन वर्षअघि २२ लाख रुपियाँको लगानीमा च्याउ खेती सुरु गरेर उहाँले राम्रो आम्दानी गरिरहनुभएको छ। उहाँले कन्य च्याउ होलसेलमा प्रतिकेजी दुई सय रुपियाँमा बेच्ने गर्नुभएको छ। कन्य च्याउ नवलपुरमा नै खपत हुने गरेको छ। उहाँको कृषि फार्ममा च्याउ लगाउन १० वटा टनेल छन्। एउटै टनेलबाट उत्पादित च्याउबाट पहिलो लटमै दुई लाख रुपियाँसम्म आम्दानी हुने गरेको उहाँको भनाइ छ।
च्याउ फार्ममा उहाँले दुई जनालाई रोजगारी दिनुभएको छ। गैँडाकोट–१ मा अनिता च्याउ फार्मको नाममा अनिता न्यौपानेले च्याउ खेती गर्दै आइरनुभएको छ। उहाँले भन्नुभयो, “श्रीमान् कोरोनाका कारण कतारबाट घर फर्किएपछि च्याउ खेती सुरु गरेको हो, सुरुमा त बिग्रियो, घाटा पनि लाग्यो पछि राम्रो हुँदै आयो।”
गैँडाकोट–५ मा रहेको छत्राक एग्रो फार्मका सञ्चालक कर्णलाल श्रेष्ठले तीन वर्षदेखि च्याउ खेतीमा नै समय बिताउँदै आउनुभएको छ। छ कट्ठा क्षेत्रफलमा तीन वटा टहरा बनाएर ६५ लाख रुपियाँ लगानीका साथ सुरु गरेको च्याउ खेतीले उहाँलाई मनग्गे आम्दानी दिएको छ। श्रेष्ठले अहिले मासिक एक लाख रुपियाँसम्म आम्दानी गर्दै आएको बताउनुभयो। व्यावसायिक च्याउ खेतीबाट मनग्गे आम्दानी हुन थालेपछि नवलपुरमा फार्म दर्ता गरी किसान यसतर्फ आकर्षित हुँदै गएका छन्।