लीलाधर वली
घोराही, भदौ १६ गते । लमही नगरपालिका–७, हस्नापुर निवासी मधु गिरीले एक बिघा धान खेती गर्ने जग्गामा व्यावसायिक कागती खेती सुरु गर्नुभएको छ । दुई वर्षअघि धान खेती गर्न छोडेर कागती खेतीमा लाग्नुभएका गिरीले अहिले कागती खेतीबाट राम्रो आम्दानीसमेत लिँदै आउनुभएको छ ।
धान खेतीका सधैँजसो मलको समस्या हुने र सिँचाइका लागि सुविधासमेत नहुँदा भने जस्तो धान उत्पादन नहुने भएपछि व्यावसायिक कागती खेती गर्न थालेको गिरी बताउनुहुन्छ ।
व्यावसायिक कागती खेती गर्न थालेपछि मल किन्नुपर्ने तथा धान भित्र्याउनका लागि मानिस खोज्नुपर्ने समस्याको अन्त्य भएको उहाँ बताउनुहुन्छ । गिरीले भन्नुभयो, “सिँचाइको सुविधा नहुँदा खेती गर्न समस्या हुने जेनतेन उत्पादन गरिएको धानबाट लगानीसमेत उठ्दैन । त्यसैले कागती खेती सुरु गरेको हुँ, अहिले राम्रो उत्पादन भइरहेको छ ।”
जिल्लामा कागती कम उत्पादन हुने र बिक्रीका लागि कुनै समस्या नभएको उहाँ बताउनुहुन्छ । कागती खेतीबाट राम्रो आम्दानी लिइरहनुभएका गिरी भन्नुहुन्छ, “यो व्यवसायबाट बजार नपाइएला भन्ने पिर पनि छैन, समयमा मल, बिउको पनि समस्या छैन, कम मेहनत, थोरै लगानीबाट पनि राम्रो आम्दानी भइरहेको छ ।” करिब दुई सय वटा कागतीका रुखबाट वार्षिक चार लाखसम्म आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ ।
लमही नगरपालिका–८, सतबरिया गोजेना निवासी राजकुमार खड्का पनि व्यावसायिक कागती खेती गर्दै आउनुभएको छ । सरकारी सेवाबाट निवृत्त हुनुभएका खड्काको पछिल्लो समय दैनिकी कागतीकै रेखदेखमा बित्ने गरेको छ । उहाँले दुई बिघा जग्गामा कागतीको व्यावसायिक खेती गर्दै आउनुभएको छ । जागिरे जीवनका क्रममा विभिन्न स्थानका फलफूल खेतीको अनुगमन र अवलोकन गर्नुभएका खड्काले पछिल्लो समय आफैँ कृषिमा जोडिएर कागती खेती गर्दै आउनुभएको छ । करिब चार सय कागतीका बिरुवा रोप्नुभएका खड्काले उत्पादनसमेत लिन थालेको बताउनुहुन्छ ।
कृषि प्राविधिकसँगको परामर्शबाट कागती व्यवसाय सुरु गर्नुभएका खड्काले राम्रो आम्दानी लिन थालेको बताउँदै भन्नुभयो, “अहिले खेतको आलीमा बेर्ना हुर्कंदै छन्, कति त सानैमा पनि फल्न थालिसकेका छन् ।
थोरै बोट भए पनि उत्पादन राम्रै रहेको छ ।” गिरी र खड्का मात्र होइन, जिल्लामा पछिल्लो समय व्यावसायिक कागती खेती गर्ने किसानको सङ्ख्या बर्सेनि बढ्दै गएको छ । कुनै समय सामान्य घरायसी प्रयोजनका लागि मात्र दुई चार बोट बिरुवा रोप्ने प्रचलन भए पनि पछिल्लो समयमा कागती खेतीको व्यावसायिक खेती र उत्पादन बढ्दै गएको छ ।
बजारमा कागतीको माग दैनिक बढ्दै गएपछि पछिल्लो समय जिल्लामा कागती खेतीलाई नगदेबालीका रूपमा समेत किसानले लिन थालेका छन् । कृषि ज्ञान केन्द्र दाङका अनुसार दाङमा दुई वर्षपहिले ५० हेक्टर क्षेत्रफलमा कागती खेती हुने गरेको थियो तर यो दुई वर्षको अवधिमा बढेर २९१ हेक्टर क्षेत्रफलमा कागती हुने गरेको छ । अहिले ११० हेक्टरमा वार्षिक ५६० मेट्रिक टन कागती उत्पादन भइरहेको र बाँकी क्षेत्रफलमा कागतीका बिरुवा हुर्किरहेको कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थविज्ञ तथा सूचना अधिकारी पृथ्वीराज लामिछानेले जानकारी दिनुभएको छ ।
कागती खेतीबाट राम्रो आम्दानी हुने
भएपछि जिल्लामा पछिल्लो समय धेरै किसान व्यावसायिक कागती खेतीमा लागेको उहाँ बताउनुहुन्छ । कृषि अर्थविज्ञ तथा सूचना अधिकारी लामिछानेले भन्नुभयो, “अन्य कृषि व्यवसायको तुलनामा कम लगानी र मेहनतबाटै राम्रो आम्दानी लिन सकिने र बिक्रीका लागि बजारको पनि समस्या नहुँदा धेरै कागती खेतीप्रति आकर्षित हुनुभएको छ ।”