प्रेमराज सिम्खडा
कालीकोट, भदौ १५ गते । कालीकोटको रास्कोट नगरपालिकाले एक करोड लगानीमा निर्माण गर्दैगरेको थोपा सिंचाइँ आयोजना अलपत्र परेको छ । वडा ९ को ताम्ती, वालुखेत र फुकोट वस्तीको ४२ हेक्टर जमिनलाई सिंचाइँ दिने उद्देश्यका साथ स्थानीय सरकारले निर्माण कार्य सुरु गरेको थोपा सिंचाइँ आयोजना अलपत्र पारिएको हो ।
छिट्टै बन्ला र सिंचाइँ गरौंला भनेर प्रतिक्षामा रहेका कृषकको प्रतिक्षा योजना अलपत्र परेसँगै रोकिएको छ । अघिल्लो सरकारले ठेक्कामार्फत योजना निर्माण सुरु गरेको थियो । स्थानीय पुष्प वरालले अघिल्लो सरकारको योजनालाई अलपत्र पार्ने मनसायले नै करोडको थोपा सिंचाइँ आयोजना वर्तमान नगर सरकारले अलपत्र पारेको आरोप लगाउनुभयो ।
नगरको प्रमुख प्रशासकीय अधिकृत जवासिंह बमले भने नागरिकको आरोप के हो त्यो उहाँहरुको कुरा भएको भन्दै नगरबाटभन्दा पनि स्थानीयकै कारणले योजना अलपत्र परेको बताउनुभयो । सबै आयोजना करिव सम्पन्न भइसकेको छ । थोपा सिंचाइँका लागि सबै कृषकको खेतमा मसिनो पाईप पनि बिछाउनु पर्ने भएकाले खेतमा बिछाउन नदिएकै कारणले समान आएर पनि थन्किएको बताउनुभयो ।