• २६ पुस २०८१, शुक्रबार

भ्रष्टाचार विरोधी अभियान महाअभियान बन्छ : प्रधानमन्त्री प्रचण्ड

blog

समाजवादी मोर्चाले शुक्रबार पोखरामा आयोजना गरेको सन्देश सभामा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : रासस

फडिन्द्र अधिकारी

लेखनाथ, भदौ १५ गते । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारमाथि अनेकखालका दबाब भए पनि सुशासनको काम नरोकिने प्रतिवद्धता जनाउनुभएको छ । 

अहिले सरकार चलाइरहेको गठबन्धन पाँचै वर्ष चल्ने भएकाले यो अभियान महाअभियानमा रुपान्तरण हुने उहाँको भनाइ छ । समाजवादी मोर्चाले शुक्रबार पोखरामा आयोजना गरेको सन्देश सभामा उहाँले भन्नुभयो, “दोषी कोही छुट्दैन, निर्दाेष पर्दैन । यो बाटोमा प्रचण्ड देखियो भने पनि नछाडनूस् भनेको छु ।” 

सरकारले खुट्टा कमाउला भन्ने आशंका नराख्न अनुरोध गर्दै सत्तारुढ दल, माओवादी केन्द्रका नेता, कर्मचारीका ठूला नेतृत्व परे पनि निष्पक्ष छानबिन हुने उहाँले आश्वासन दिनुभयो । 


“प्रहरी र अनुसन्धान गर्ने अरु निकायलाई निष्पक्ष छानबिन गर्नुस् भनेका छौँ । या लडाइँ नै हो, यो लडाइँलाई अन्तिम निस्कर्षमा पुगाउँछौँ” उहाँले समाजवादी मोर्चा निर्वाचन जित्न वा सरकारको गणित पुगाउन नबनाएको प्रष्ट पार्नुभयो । यसले नयाँ संस्कृति, क्रान्ति र जनताको सपनाको आधारशीला तय गर्ने उल्लेख गर्नुभयो । 

भ्रष्टाचारले समाज थिलोथिलो बनेको उल्लेख गर्दै थप्नुभयो, “कर्मचारी, नेता, कार्यकर्ता, सबै क्षेत्र अनियमित्तामा लाग्दा राज्य नै संस्थागत भ्रष्टाचारमा संलग्न हुने अवस्था पो देखियो, यसलाई चिर्न हामी लागेका छौँ ।”

मोर्चालाई समाजवाद निर्माणको पहिलो कदमको संज्ञा दिँदै उहाँले क्रान्तिका नियमले एकीकरणको बाटोमा लैजाने सुनाउनुभयो । “क्रान्ति कसैको मनोगत इच्छाले हुँदैन । अहिले वाद, विवाद, संवाद हुँदै हामी यहाँ आएका छौँ । मोर्चामात्र होइन, हामी त पार्टी नै एउटै बनाउन चाहन्छौँ ।”

प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणका बेला थुप्रै ऐतिहासिक काम भएको उल्लेख गर्दै अब हुने अमेरिका भ्रमण र चीन भ्रमणलाई पनि ऐतिहासिक बनाउने गृहकार्य भइरहेको उल्लेख गर्नुभयो । चीन भ्रमणका बेला हिल्सा–सुर्खेत सडक निर्माण, कोरला नाका सञ्चालन, पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट नियमित उडानका लागि पहल गर्ने जानकारी दिनुभयो । 

रसुवा नाका र गोरखाको रुइला नाका सञ्चालनलाई पनि सरकारले चीन भ्रमणको एजेन्डा बनाएको छ । प्रधानमन्त्रीले एग्रो बेस उद्योगको क्षेत्रमा पनि चीनले सहकार्यको प्रस्ताव गरेको जानकारी दिनुभयो । प्रधानमन्त्री दाहालले अर्थतन्त्र सुधारका लागि सरकार निरन्तर लागेको र केही सकारात्मक संकेतसमेत देखिएको जनाउनुभयो । 


नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले जनताको समस्या र मागलाई सदन र सडकबाट सम्बोधन गर्नेगरी मोर्चा अघि बढेको चर्चा गर्नुभयो । समाजवादी मोर्चाले समाजवादी क्रान्तिलाई सम्पन्न गर्ने आधारशीला बनाउने काम गरिरहेको उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, “अहिले देशको अवस्था कहालीलाग्दो छ, कामै गरेर देखाउनु पर्ने अवस्था छ । अहिलेको सरकारले चालेका कदमले जनतामा थोरै भए पनि सकारात्मक सन्देश प्रवाह भएको छ ।”

नेकपा महासचिव नेत्रविक्रम ‘विप्लव’ ले माओवादीहरुले फुट्न मात्र होइन, जुट्न समेत जानेको चर्चा गर्नुभयो । अहिले क्रान्तिकारीहरुमाथि हमला भइरहेको दाबी गर्दै प्रतिक्रान्तिविरुद्ध लड्न मोर्चा बनाइएको दावी गर्नुभयो । महासचिव विप्लवले नेकपा सरकारमा जाने, सांसद बन्नेभन्दा पनि समाजवादको लक्ष्यमा रहेको बताउनुभयो । “हामीलाई सरकारमा जाने लोभ छैन । बाहिर फैलाइएका हल्लामा सत्यता छैन, हामी समाजवादमा जान चाहन्छौँ’ उहाँले भन्नुभयो । 

यसैबीच गण्डकी प्रदेशमा समाजवादी मोर्चा गण्डकी प्रदेश संयोजन समिति घोषणा भएको छ । मोर्चामा आवद्ध दलबीच आलोपालो नेतृत्व गर्ने सहमतिअनुरुप पहिलो पटक गायत्री गुरुङले नेतृत्व पाउनुभएको हो । उहाँ नेकपा (माओवादी केन्द्र) गण्डकी अध्यक्षसमेत हुनुहुन्छ ।

मोर्चामा माओवादी केन्द्रबाट ज्ञामनाथ गैरे र जगन्नाथ खनाल, नेकपा (एकीकृत समाजवादी) बाट केशवलाल श्रेष्ठ, श्रीनाथ बराल र प्रतापलाल श्रेष्ठ हुनुहुन्छ । जनता समाजवादी पार्टीले मोर्चाका सदस्यमा गोपाल गुरुङ, निर्मल जिसी र रमेश नेपालीलाई उठाएको छ भने नेकपाबाट राजन सी, दीपा सी र काजी सी सदस्य हुनुहुन्छ ।


मोर्चाको बिहीबारको बैठकले प्रदेशका सबै जिल्लामा मोर्चाको जिल्ला संयोजन समिति बनाउने निर्णयसमेत गरेको छ । समितिमा हरेक पार्टीबाट दुई–दुई सदस्यको प्रतिनिधित्व हुनेछ ।